काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकको एटीएम/डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई विभिन्न स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउनेछ।
बैंकका अनुसार अस्पतालका विभिन्न सेवा तथा सुविधामा १० देखि २० प्रतिशतसम्म छुट पाइनेछ।
त्यसैगरी, मुक्तिनाथ विकास बैंकले नेपाल मणिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई न्यूनतम ब्याजदरमा विभिन्न कर्जा सुविधा उपलब्ध गराउनेछ।
यसअन्तर्गत प्रोफेसनल लोन, होम लोन, अटो लोन, व्यावसायिक कर्जालगायत अन्य सहुलियतपूर्ण बैंकिङ सेवा प्रदान गरिने बैंकले जनाएको छ।
यस सहकार्यबाट बैंकका ग्राहक तथा कर्मचारीले सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्नेछन् भने अस्पतालका कर्मचारी तथा उनीहरूका परिवारले सहज र प्राथमिकतायुक्त बैंकिङ सुविधा उपयोग गर्न सक्नेछन्।
सम्झौताले दुवै संस्थाबीचको सम्बन्ध थप सुदृढ बनाउनुका साथै स्वास्थ्य र वित्तीय सेवाबीचको सहकार्य विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।









