काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्री शाहले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग चाडपर्वका बेला नागरिक सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको अवस्थाबारे जानकारी लिएका हुन्।
प्रधानमन्त्री शाहले देशको सुरक्षालाई थप सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान तथा सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
नागरिकको जीउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन तथा शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्त–दुरुस्त बनाउन सम्बन्धित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।










