काठमाडौं।नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले तत्काल संसद् बैठक बोलाउन सभामुख डीपी अर्यालसँग आग्रह गरेका छन्।
मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा आङ्देम्बेले समसामयिक राजनीतिक घटनाक्रम र संसदीय गतिविधिबारे छलफल गर्दै संसद् बाहिर उठेका संवेदनशील विषयको निकास संसदभित्रै खोज्नु पर्ने बताएका हुन्।
उनले प्रेसमाथिको हस्तक्षेप, न्यायालयमा देखिएका विचलन, प्रहरी प्रशासनको कार्यशैली तथा प्रधानमन्त्रीसँग जोडिएका विषयमा संसदमा छलफल आवश्यक रहेको बताए।
आङ्देम्बेले कांग्रेस संसदीय दल र विपक्षी दलको बैठकका निर्णयबारे पनि सभामुखलाई जानकारी गराएका थिए। विपक्षी दलको बैठकले तत्काल संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरेको थियो। कांग्रेसले पत्रकार धरपकडलगायत सरकारका विवादित विषयमा संसदीय विशेष छानबिन समिति गठन गर्नुपर्ने निर्णय समेत गरेको छ।










