बाँके। बाँकेको नेपालगञ्ज उपमहानगर १९ का अमजत अली शेख विगत सात वर्षदेखि ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन्।
गाउँका धेरै युवाहरु वैदेशिक रोजगार वा अन्य पेसामा अल्झिरहेका बेला शेखले आफ्नै गाउँठाउँमा कृषि सेवा व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो प्रमाण पेस गरेका छन्।
तीन लाख ५० हजार लगानी गरेर थ्रेसर मेसिन खरिद गरेको उनले धानबालीको मुख्य याममा मात्रै सम्पूर्ण खर्च कटाएर करिब एक लाख ५० हजारसम्म खुद मुनाफा कमाउने बताए। उनले थ्रेसर मेसिन सञ्चालन गरेबापत प्रतिघण्टा दुई हजार ५०० वा एक क्विन्टल धान बराबर १२ किलो धान सेवा शुल्कबापत लिने गरेका छन्।
Arghakhachi cementShree Steel
'विशेष गरी धेरै जग्गा भएका र घरमा काम गर्ने जनशक्ति कम भएका कृषकहरूले थ्रेसरको बढी माग गर्नुहुन्छ,' आफ्नो व्यवसायको अनुभव सुनाउँदै शेखले भने, 'थ्रेसरले एक घण्टामा १० कट्ठासम्मको धानबाली सजिलै थन्क्याउन सकिन्छ।'
थ्रेसर मेसिनमा पराल दाइँ गर्नुपर्ने वा धान केलाइरहनुपर्ने कुनै झन्झट हुँदैन। काम छिटो, खर्च कम र समयको भारी बचत हुने भएकोले गाउँका सबै किसानले थ्रेसर मेसिन प्रयोग गर्ने गरेको उनले बताए।
केही वर्षअघिसम्म गाउँकमा सबैजसो किसानले काटेको धान एउटै स्थानमा जम्मा गरेर पालैपालो थ्रेसर चलाउने गरे पनि अहिले प्रत्येक किसानको खेत–खेतमा थ्रेसर मेसिन पु¥याउनु पर्दा इन्धन र समय धेरै खर्च हुने गरेको अमजतको दुखेसो छ।
गाउँमा सुरुमा आफूले थ्रेसर मेसिन सञ्चालन गरे पनि अहिले अन्य गाउँबाट समेत किसानले मेसिन मगाउने भएकाले प्रतिस्पर्धा हुने गरेको छ। यतिबेला धान झार्ने सिजनमा बिहान ५ बजेदेखि राति १२ बजेसम्म पनि किसानको खेतमै थ्रेसर पुर्याउने गरेको अमजतले बताए।










