समय : ०८:५७ pm | शुक्रबार , असाेज ३० गते २०८३

आरविवि मर्चेन्ट बैंकिङको ४ करोड नगद लाभांश प्रस्ताव पारित

अर्थ विशेष | असाेज ३० गते २०८३

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको एघारौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत अर्थात् करसहित ४ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबारस्थित सभाहलमा सम्पन्न साधारण सभामा कम्पनीका अध्यक्ष विनय रमण पौडेलले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि छलफलपछि सभाले लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णयसमेत गरेको छ । साथै, कम्पनीका नवनियुक्त सञ्चालकहरूको नियुक्ति पनि अनुमोदन गरिएको छ ।

सभामा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत निम्बल श्रेष्ठले बैंकको शतप्रतिशत सेयर प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल उपस्थित थिए ।

सभामा कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रतिनिधि, बाह्य लेखापरीक्षक तथा आरविवि म्युचुअल फण्ड १ र २ का लेखापरीक्षकहरूको पनि उपस्थिति थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलका अनुसार आर्थिक वर्ष २०८२/८३ मा आरविवि म्युचुअल फण्ड १ ले २.७५ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ ले ६ प्रतिशत नगद लाभांश वितरण गरेका छन् । सोही अवधिमा आरविवि मर्चेन्ट बैंकिङले २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्