समय : ०८:५० pm | शुक्रबार , असाेज ३० गते २०८३

सभापोखरी हाइड्रोको १० करोड ७५ लाखको आईपीओ प्रत्याभूति गर्दै गरिमा क्यापिटल

अर्थ विशेष | असाेज ३० गते २०८३

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले सभापोखरी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूति गर्ने भएको छ । दुवै कम्पनीबीच २०८३ असोज २८ गते आईपीओ प्रत्याभूति सम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार सभापोखरी हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको १० लाख ७५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति गरिमा क्यापिटलले गर्नेछ । प्रतिकित्ता १०० रुपैयाँका दरले उक्त सेयरको कुल रकम १० करोड ७५ लाख रुपैयाँ हुन्छ ।

गरिमा क्यापिटलको कमलपोखरीस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अशोक सुवेदी र सभापोखरी हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सभापोखरी हाइड्रोपावरले संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका–३ मा ५ मेगावाट क्षमताको लंखुवा खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजना २०८१ माघमा निर्माण सम्पन्न भई ३३ केभी प्रसारण लाइनमार्फत टुम्लिङटार सबस्टेसन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको कम्पनीले जनाएको छ ।

गरिमा क्यापिटल गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी हो । नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरका रूपमा यसले लगानी व्यवस्थापन, डिम्याट तथा मेरोसेयर खाता, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, म्युचुअल फण्ड व्यवस्थापन, सेयर रजिस्ट्रेसन तथा संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले गरिमा विकास बैंकका शाखामार्फत आफ्ना सेवा ग्राहकसम्म पुर्याउँदै आएको जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्