काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्स र प्राइम सेरामिक प्रालिबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र प्राइम सेरामिकका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै प्राइम टाइल्स कर्णाली याक्सको अफिसियल प्रिमियम भिट्रिफाइड टायल पार्टनर बनेको छ ।
सम्झौतापछि क्रिकेट निर्देशक मल्लले प्राइम टाइल्ससँगको साझेदारीले कर्णाली याक्सको यात्रा थप बलियो बनाउने विश्वास व्यक्त गरे । प्राइम सेरामिकका अध्यक्ष गर्गले पनि कर्णाली याक्ससँगको सहकार्यले नेपाली क्रिकेटसँग अझ नजिकबाट जोडिन अवसर मिलेको बताए ।
एनपीएलको तेस्रो संस्करण आगामी ९ कात्तिकदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ । प्रतियोगिताका लागि कर्णाली याक्सले विदेशी खेलाडीका रूपमा इङ्ग्ल्यान्डका मार्क वाट र बंगलादेशका अकबर अलीलाई अनुबन्ध गरिसकेको छ ।










