समय : १०:४६ am | बुधबार , भाद्र २४ गते २०८३

सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?

अर्थ विशेष | भाद्र २४ गते २०८३

चितवन। नेपालको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा पछिल्लो समय पर्यटकको चहलपहल ह्वात्तै घटेको छ। भोटेकोशीमा आएको बाढी, पृथ्वी राजमार्गमा गएको पहिरो तथा त्यसको प्रभावबारे अन्तर्राष्ट्रियस्तरमा फैलिएको नकारात्मक सन्देशका कारण होटल तथा पर्यटन व्यवसायीले ठूलो क्षति व्यहोर्नुपरेको छ।

सौराहाको ७५ कोठे ‘ल्यान्डमार्क’ होटलमा मंगलबार एउटा पनि कोठा भरिएन। पछिल्ला दिनमा होटल सुनसान हुनु नियमितजस्तै बनेको होटल सञ्चालक तथा क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले बताए।

उनका अनुसार यस समयमा होटलको करिब ६० प्रतिशत बुकिङ थियो। तर भोटेकोशी बाढी र सडक सञ्जालमा आएको अवरोधका कारण अधिकांश बुकिङ रद्द भएका छन्।

पाण्डेका अनुसार भारतको गोरखपुरबाट सौराहा भ्रमणका लागि आउन लागेका करिब १०० पर्यटकले समेत आफ्नो कार्यक्रम स्थगित गरेका छन्। पर्यटकसँगको कुराकानीका क्रममा उनीहरूले नेपालमा विपद् भइरहेका बेला आफूहरू घुम्न आएर रमाउन नसक्ने बताएका थिए।

“नेपालमा विपद् परिरहेका बेला आफूहरू त्यहाँ आएर रमाउन नसक्ने पर्यटकले बताएका छन्। अन्तर्राष्ट्रियस्तरमा नेपालका सीमित भूभागमा मात्रै बाढीपहिरोको प्रभाव रहेको र अन्य पर्यटकीय क्षेत्र सुरक्षित छन् भन्ने सन्देश प्रवाह गर्न आवश्यक छ,” पाण्डेले भने।

व्यवसायीका अनुसार गत वर्ष जेनजी आन्दोलनका कारण प्रभावित भएको पर्यटन क्षेत्र यस वर्ष भने राम्रो हुने अपेक्षा गरिएको थियो। तर बाढी र सडक अवरोधले पर्यटन व्यवसायीको आशामाथि पुनः धक्का लागेको छ।

सौराहास्थित होटल भिष्टाका सञ्चालक रमेश सिलवालले बाढीभन्दा पनि सडक अवरोधका कारण बढी बुकिङ रद्द भएको बताए। उनका अनुसार भारतीय पर्यटक बढी आउने यो समयमा पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पर्यटकको आवागमन प्रभावित भएको हो।

“भोटेकोशीमा बाढी आएपछि केही बुकिङ रद्द भएका थिए। तर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि बाँकी रहेका अधिकांश बुकिङ पनि रद्द भए,” उनले भने।

मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधामलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा आउने भारतीय पर्यटकले यात्रा स्थगित गर्दा त्यसको प्रत्यक्ष असर सौराहाको पर्यटन व्यवसायमा परेको व्यवसायीहरूको भनाइ छ। सडक सञ्चालनमा आए पनि बाढीपहिरोको समाचारका कारण पर्यटकमा नेपालप्रति असुरक्षाको धारणा बनेको उनीहरूको गुनासो छ।

होटल सङ्घ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरेका अनुसार विभिन्न देशले नेपाललाई असुरक्षित गन्तव्यका रूपमा हेर्न थालेपछि विदेशी पर्यटकले धमाधम बुकिङ रद्द गरिरहेका छन्। सामान्य अवस्थामा वर्षायाम सकिएसँगै सेप्टेम्बर र अक्टोबरदेखि सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्ने गर्छ। तर यस वर्ष भने अवस्था फरक देखिएको छ।

घिमिरेका अनुसार सेप्टेम्बरका लगभग सबै बुकिङ रद्द भइसकेका छन् भने अक्टोबरका अधिकांश बुकिङसमेत प्रभावित भएका छन्। अवस्था चाँडै सुधार भए अक्टोबरका केही बुकिङ जोगिन सक्ने व्यवसायीको अपेक्षा छ। त्यसपछिका महिनामा भने पर्यटन व्यवसाय पुरानै लयमा फर्किने उनीहरूको आशा छ।

अहिले सौराहामा औसत पाँच प्रतिशत हाराहारी मात्रै पर्यटक रहेको अनुमान गरिएको छ। गत वर्ष यही समयमा सौराहाका होटलमा करिब २५ देखि ३० प्रतिशतसम्म पर्यटक हुने गरेका थिए। सामान्य अवस्थामा शनिबार र आइतबार आन्तरिक पर्यटकको समेत उल्लेख्य चहलपहल हुने गरेकामा यसपटक बाढी र सडक अवरोधका कारण आन्तरिक पर्यटकसमेत आउन छाडेका छन्।

घिमिरेले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश विश्वभर पुर्‍याउनुपर्नेमा जोड दिए। उनका अनुसार सरकारले विभिन्न देशमा रहेका नेपाली राजदूतावास र राजदूतमार्फत नेपालका अधिकांश पर्यटकीय क्षेत्र सुरक्षित रहेको तथ्य सम्बन्धित देशका नागरिकसम्म पुर्‍याउन सके पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्न सक्छ।

सौराहास्थित केसीज रेष्टुरेन्ट एन्ड होमका सञ्चालक नरेश गिरीको व्यवसायमा समेत पर्यटकको अभावको प्रत्यक्ष असर परेको छ। विगतमा यही समयमा पर्यटकले भरिभराउ हुने रेष्टुरेन्ट तथा होटल अहिले सुनसान रहेको उनले बताए। भएका बुकिङसमेत रद्द हुँदा नोभेम्बरसम्मको अवस्था चिन्ताजनक देखिएको उनको भनाइ छ।

व्यवसायीहरूका अनुसार भोटेकोशी बाढीमा भारतीयसहित विदेशी पर्यटकसमेत प्रभावित भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएपछि नेपाल असुरक्षित रहेको सन्देश गएको हो। उनीहरू नेपालभर नै बाढीपहिरोको अवस्था रहेको भन्ने गलत बुझाइ हटाउन तत्काल प्रभावकारी सूचना प्रवाह गर्नुपर्ने बताउँछन्।

सौराहामा १२० भन्दा बढी होटल छन्। ती होटलमा एकैपटक पाँच हजारभन्दा बढी पर्यटकलाई राख्न सक्ने क्षमता छ। यहाँ मुख्य रूपमा चितवन राष्ट्रिय निकुञ्जमा सफारी गर्न आउने स्वदेशी तथा विदेशी पर्यटक बस्ने गर्छन्। त्यसबाहेक देशका विभिन्न स्थानबाट गोष्ठी, बैठक, सभा तथा सम्मेलनका लागि आउने नेपालीहरूका कारण पनि सौराहाका होटलमा नियमित चहलपहल हुने गरेको छ।

काठमाडौँबाट सौराहा आउने पर्यटक बससमेत पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो गएपछि प्रभावित भएका छन्। सडकमार्ग अवरुद्ध हुँदा हवाई यात्राको विकल्प रहे पनि महँगो हवाई भाडा र यात्रुको चापका कारण पर्यटकका लागि सहज अवस्था छैन।

नेपालको तेस्रो प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिने सौराहा सफारी पर्यटनका लागि भने देशकै पहिलो रोजाइको गन्तव्य मानिन्छ। तर प्राकृतिक विपद्का कारण उत्पन्न भएको नकारात्मक सन्देश र यातायात अवरोधले पर्यटनको मुख्य सिजनमै व्यवसायीलाई चिन्तित बनाएको छ। व्यवसायीहरूले अब सरकारले अन्तर्राष्ट्रियस्तरमै नेपाल सुरक्षित रहेको स्पष्ट सन्देश प्रवाह गर्दै पर्यटकको विश्वास फर्काउन तत्काल पहल गर्नुपर्ने माग गरेका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्