काठमाडौं । पर्यटनमन्त्री खडकराज पौडेलले रसुवा बाढीका कारण पर्यटन क्षेत्रमा करिब ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको मूल्याङ्कन गरेको बताएका छन्।
रसुवा बाढीले पर्यटन क्षेत्रमा परेको प्रभावबारे संसदीय समितिमा छलफलका क्रममा बोल्दै सबै व्यवसायीहरूलाई क्षतिको प्रतिवेदन पेस गर्न पनि भनेको बताए।
उनका अनुसार बाढीमा १४२ वटा होटल, ५७ वटा साना रेस्टुरेन्ट, १४१ वटा पर्यटन व्यवसायसँग सम्बन्धित सवारी साधन, २७ वटा सम्पदा, लाङटाङ, गोसाईंकुण्ड, पार्वती कुण्ड, नाचेली जस्ता प्रमुख पदमार्गमा क्षति पुगेको छ।
उनले अहिले निजी उडानलाई व्यवस्थित गर्दै दैनिक ५ वटासम्मको उडान अनुमति दिइएको बताए। पोखरा, चितवन, काठमाडौँका होटल व्यवसायीहरूले प्रभावितहरूलाई निःशुल्क खान बस्न घोषणा गरेर आत्मीयता देखाएको समेत बताए।










