दाङ । राजपुर गाउँपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग गर्ने निर्णय गरेको छ । पालिकाको आज बसेको कार्यपालिकाको बैठकले बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअन्तर्गत ‘विपद्जन्य घटनाबाट सिर्जित समस्याको व्यवस्थापन’ शीर्षकबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको उद्धार कोषमा रु १० लाख सहायता रकम प्रदान गर्ने निर्णय गरेको हो ।
बैठकले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । त्यसैगरी विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन रहेका नागरिकको छिटोभन्दा छिटो सकुशल उद्धार हुने अपेक्षा गरिएको छ । सम्पर्कविहीन तथा प्रभावित नागरिकको उद्धारका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने निर्णयसमेत गाउँ कार्यपालिकाले गरेको छ ।










