काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट कार्य गरी तोकिएको व्यावसायिक लक्ष्य पूरा गरेका अभिकर्ताका लागि प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
कम्पनीले २०८३ वैशाखमा सञ्चालन गरेको मासिक योजनाअन्तर्गत लक्ष्य हासिल गर्न सफल अभिकर्तालाई लक्षित गरी ललितपुरस्थित होटल रोयल टुलिपमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा कम्पनीका विभागीय तथा विभिन्न शाखाका प्रमुखसहित वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक र अभिकर्ता गरी करिब ३०० जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । उनले कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचकमा उत्कृष्टता हासिल गर्न सफल भएको उल्लेख गर्दै त्यसमा योगदान पुर्याउने नियामक निकाय, ग्राहक, अभिकर्ता तथा कम्पनीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका सबैलाई धन्यवाद दिए ।
उनले नयाँ आर्थिक वर्षमा ग्राहकलाई थप सेवा र सुविधा प्रदान गर्न अझ जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए । साथै, कम्पनीले अभिकर्ता सञ्जाललाई थप मजबुत बनाउनेतर्फ विशेष ध्यान दिने उल्लेख गरे ।
कार्यक्रममा प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रको अन्तर्राष्ट्रिय उपाधि एमडीआरटीको लक्ष्य पूरा गर्न अभिकर्ताले अपनाउनुपर्ने क्रियाकलाप तथा रणनीतिबारे प्रशिक्षण दिएका थिए । उनले विभिन्न उदाहरणमार्फत व्यावसायिक लक्ष्य हासिल गर्ने विषयमा सहभागीलाई प्रशिक्षण दिएको कम्पनीले जनाएको छ ।
कार्यक्रमको सांस्कृतिक सत्रमा स्ट्यान्डअप कमेडियन सुमन कार्कीले प्रस्तुति दिएका थिए । कलाकार रामचन्द्र काफ्ले र जुनु रिजालको सांगीतिक प्रस्तुतिसँगै गायक दीपक बज्राचार्य एन्ड रिदम ब्यान्डको प्रत्यक्ष प्रस्तुति तथा डिजे अमुको प्रस्तुतिसमेत रहेको थियो ।










