काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोल प्रसाद(डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार भएको भेटमा सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट बनेको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको महत्त्वपूर्ण लजिस्टिक सहयोगप्रति आभार व्यक्त गरे ।
उनले नेपाल र भारतबिचको सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता, सांस्कृतिक तथा सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटीलगायतका क्षेत्रमा रहेका विभिन्न द्विपक्षीय संयन्त्रमार्फत सम्बन्ध अझ सुदृढ हुँदै गएको बताए ।
भेटमा राजदूत श्रीवास्तवले भारतका लोकसभाका सभामुख ओम बिरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी गराउँदै नेपालका सभामुख तथा सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययन तथा अवलोकनका लागि भारत भ्रमणको निमन्त्रणा दिएका छन् ।
उनले संसदीय कूटनीति र उच्चस्तरीय राजनीतिक संवादले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै व्यापार, कनेक्टिभिटी, ऊर्जा, शिक्षा तथा जन–जनबिचको सम्बन्ध विस्तारमा भारत सरकार निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।










