समय : ०६:२२ pm | बुधबार , असार ३ गते २०८३

वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान

अर्थ विशेष | असार ३ गते २०८३

काठमाडौँ । युवा, रोजगार तथा श्रममन्त्री रामजी यादवले रोजगार नीति परिमार्जनका लागि कार्यदल गठन गरिएको बताउँदै आगामी दशकलाई ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ का रूपमा काम गर्ने तयारीमा आफू जुटेको जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आन्तरिक रोजगारीका अवसर विस्तार गर्न आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रूपमा घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए। उनले यसका लागि आवश्यक नीतिगत सुधारका काम अगाडि बढाइएको जानकारी दिए।

मन्त्री यादवले हाल कार्यान्वयनमा रहेको रोजगार नीति, २०७१ समयसापेक्ष नरहेको उल्लेख गर्दै उक्त नीतिको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनी आधारसमेत अपर्याप्त रहेको बताए। उनले नयाँ रोजगार नीति तर्जुमाका लागि कार्यदल गठन गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

युवालाई उद्यमशीलतासँग जोड्ने विषयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री यादवले देशभरका ७५३ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको बताए। रोजगार सूचना तथा उद्यमशीलता विकासका लागि उद्यमशीलता केन्द्र सञ्चालनसम्बन्धी कार्यविधि तयार गरिएको जानकारी पनि उनले दिए।

“नेपालमा श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्न आवश्यक छ,” मन्त्री यादवले भने । श्रम शोषण रोक्न पत्राचारदेखि श्रम निरीक्षण टोली परिचालनसम्मका कामलाई तीव्रता दिइएको उल्लेख गर्दै उनले आफू मन्त्री भएपछि हालसम्म करिब ८०० वटा श्रम निरीक्षण सम्पन्न भइसकेको जानकारी दिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्