काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले देशभरका ४४ वटा शाखा कार्यालयहरूलाई नजिकका अन्य शाखाहरूमा समायोजन (मर्ज) गरेको छ । बैंकले सार्वजनिक गरेको पछिल्लो सूचना अनुसार आगामी २०८३ साल वैशाख ३ गतेदेखि यी शाखाहरू एकीकृत रूपमा सञ्चालनमा आएका छन् ।
बैंकका अनुसार एकै क्षेत्रमा रहेका र ३०० मिटरदेखि ४.१ किलोमिटरसम्मको छोटो दूरीमा रहेका शाखाहरूलाई समायोजन गर्न लागिएको हो । समायोजन पश्चात् ग्राहकहरूले साविकको शाखाबाट पाइरहेका सम्पूर्ण बैंकिङ सुविधाहरू समायोजन भई बनेका एकीकृत शाखाहरूबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
कुन शाखा कुनमा गाभिँदै छन्?
काठमाडौं उपत्यका भित्रका नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर र बागबजार शाखा कमलादी शाखामा समायोजन भएका छन् । यसैगरी बोहोराटार, माछापोखरी र ढुङ्गेधारा–नर्सरी चोक शाखा बालाजु शाखामा, न्यूरोड खिचापोखरी, भोटाहिटी र किलागल शाखा न्यूरोड विशालबजार शाखामा तथा अनामनगर, शंखमुल र मध्य बानेश्वर शाखा नयाँ बानेश्वर शाखामा मर्ज भएका छन् ।
यता तिन्चुली र चाबहिल शाखाबाट सेवा लिइरहेका ग्राहक बैंकको बौद्ध शाखामा जानुपर्नेछ भने सिनामंगल, मित्रपार्क र कालोपुल शाखाका ग्राहक बत्तिसपुतली शाखामा जानुपर्नेछ ।
यता नरेफाँट शाखाका ग्राहक कोटेश्वर, बालुवाटार शाखाका लाजिम्पाट, खसीबजार शाखाका ग्राहक कलंकी, कपन शाखाका ग्राहक सुकेधारा, गोंगबु शाखाका ग्राहक सामाखुसी, सोह्रखुट्टे शाखाका ठमेल र टेकु शाखाका त्रिपुरेश्वर शाखामा जानुपर्नेछ । ललितपुरका ग्वार्को र खुमलटार शाखा सातदोबाटो शाखामा, लगनखेल र मंगलबजार शाखा जावलाखेल शाखामा, सानेपा शाखा पुलचोक शाखामा र खोकना शाखा भैसेपाटी शाखामा समायोजन भएको छ ।
उपत्यका बाहिर पनि धेरै स्थानमा शाखा मर्ज भएका छन् । जसअनुसार विराटनगरको मेनरोड र हाटखोला शाखाका ग्राहक अब विराटनगर शाखामा र रानी मिल्स एरिया शाखाका ग्राहक रोडशेष चोक शाखामा जानुपर्नेछ ।
विरगंजको लिंक रोड र पावरहाउस चोक शाखा आदर्शनगर शाखामा समायोजन हुँदा भरतपुरको बसेनी (चितवन) शाखा हाकिम चोक शाखामा मर्ज भएको छ ।
बैंकले यो प्रक्रियाबाट बैंकको सञ्चालन दक्षता बढ्ने र ग्राहकहरूलाई अझ स्तरीय सेवा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गरेको छ । ग्राहकहरूलाई पर्न सक्ने असुविधाप्रति ध्यान दिँदै बैंकले समायोजन हुने शाखाहरूका ग्राहकलाई नजिकैको एकीकृत शाखामा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।









