काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा ६ जना सदस्य नियुक्त गरेको छ ।
नवनियुक्त सदस्यहरूमा अर्जुनजंग थापा, डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, डा. सुदन झा र पुकार मल्ल रहेका छन् । सदस्यमा नियुक्त थापा भौतिक पूर्वाधार मन्त्रालयका पूर्वसचिव हुन् भने डा. आचार्य त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् ।
त्यस्तै, डा. गौचन ‘समग्र विकास अध्ययन प्रतिष्ठान (आईआईडीएस)’ का वरिष्ठ अनुसन्धानकर्ता हुन् । रेशु अर्याल शिक्षाविद् हुन् । उनी यसअघि बालेन्द्र शाह काठमाडौं महानगरपालिकाका मेयर रहँदा सल्लाहकारको भूमिकामा थिइन् ।
डा. झा काठमाडौं विश्वविद्यालयका कम्प्युटर विज्ञान तथा इन्जिनियरिङका प्राध्यापक हुन् भने मल्ल ‘गभर्नेन्स ल्याब’ का सहसंस्थापक तथा अध्यक्ष हुन् । साथै, उनी ‘नेपाल लिडरसिप एकेडेमी’का कार्यकारी प्रशिक्षक पनि हुन् ।
यसअघि सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरिसकेको छ ।









