काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र टाइम फर्मास्युटिकल्सबीच बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासनका लागि शिलबन्दी बोलपत्रसम्बन्धी कार्य सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको कम्पनीले धितोपत्र दर्ता तथा निष्कासन नियमावली र बुक बिल्डिङ निर्देशिका, २०७७ को प्रावधानअनुसार बोलपत्र दर्ता, खोल्ने र निर्णय गर्ने प्रक्रियामा नेप्सेको सहजीकरण प्राप्त गर्ने गरी यो सम्झौता गरेको हो ।
सम्झौता पत्रमा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईं र टाइम फर्मास्युटिकल्सका तर्फबाट प्रबन्ध सञ्चालक सुदर्शनलाल श्रेष्ठले हस्ताक्षर गरे । उक्त अवसरमा कम्पनी सचिव अधिवक्ता सुदिप घिमिरे र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टको तर्फबाट मनोहर कडेलको समेत उपस्थिति रहेको थियो ।
कम्पनीले १० करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको कुल १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि बुक बिल्डिङ विधिमार्फत बोलकबोल गरिनेछ भने बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ ।
यस सेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पुँजी ५३ करोड रुपैयाँ पुग्नेछ । ३० वर्षदेखि औषधि उत्पादनमा सक्रिय यो कम्पनी डब्ल्यूएचओ(जीएमपी प्रमाणित उद्योग हो, जसले हाल २०० भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै ३०० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ ।
नवलपरासीको उत्पादन प्लान्ट र ललितपुरको सातदोबाटोस्थित मार्केटिङ कार्यालय मार्फत कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्दै आएको छ।









