काठमाडौं । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउन ‘कुशल फार्मेसी अभ्यास’ तथा ‘कुशल भण्डारण तथा वितरण अभ्यास’ अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ।
आज एक सूचना जारी गर्दै विभागले औषधि बिक्री–वितरण संहिता, २०८० कार्यान्वयनमा रहेको जानकारी दिँदै नयाँ थोक तथा खुद्रा पसलका हकमा तोकिएका मापदण्डअनुसार पूर्वतयारी पूरा गरी प्रमाणीकरणका लागि आवेदन दिनुपर्ने जनाएको छ ।
नयाँ दर्ता हुने फार्मेसी तथा थोक पसलले संहितामा उल्लेखित सबै मापदण्ड पूरा गरेपछि मात्र दर्ता प्रक्रिया अघि बढ्ने विभागले स्पष्ट पारेको छ। साथै, पहिले नै सञ्चालनमा रहेका पसलहरूले क्रमशः सबै मापदण्ड पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।
विभागका अनुसार संहिताको पालना नगरेमा औषधि ऐन, २०३५ तथा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ ।









