समय : ०५:२५ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

मेरो किसानले आइपीओ ल्याउँदै, प्रभु क्यापिटललाई तोक्यो इस्यु म्यानेजर

अर्थ विशेष | चैत्र ३ गते २०८२

काठमाडौं । कृषि उपजको उत्पादन, प्रशोधनदेखि उपभोक्ताको घरदैलोसम्म बिक्री–वितरणको काम गरिरहेको व्यावसायिक संस्था ‘मेरो किसान’ले आइपीओ ल्याउने भएको छ।

कम्पनीले आइपीओ निष्कासनका लागि आवश्यक प्रबन्ध मिलाउन सोमबार प्रभु क्यापिटलसँग सम्झौतासमेत गरेको छ। अब मेरो किसानको आइपीओ निष्कासन तथा बिक्रीको आवश्यक प्रबन्ध मिलाउने काम प्रभु क्यापिटलले गर्नेछ।

सम्झौता हस्ताक्षर कार्यक्रममा मेरो किसानका अध्यक्ष विष्णुमणि गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल, सञ्चालक सुनिल थापा र सञ्चालक सन्तोष बस्नेत तथा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक आशीष गौचन, प्रमुख व्यापार अधिकृत बासु थपलिया र विशिष्टीकृत लगानी कोष प्रमुख सुदीप हरि ढुंगानाको उपस्थिति थियो।

मेरो किसानले कृषि उत्पादनका लागि आवश्यक बीउ–बिजन, कृषि उपज भण्डारण तथा प्रशोधन, प्याकिङ, बिक्री–वितरणसमेत गरेर कृषि र प्रविधिलाई संयोजन गर्दै कृषिलाई आधुनिकीकरण गर्ने लक्ष्य राखेको छ।

शेयर निष्कासन गर्ने कम्पनी र शेयर बिक्री प्रबन्धक दुवै पक्षको यस सहकार्यले कम्पनीलाई पुँजी बजारमार्फत सर्वसाधारणसँग जोड्दै कृषिप्रधान देश भनिँदै आएको नेपालमा कृषि क्षेत्रमा थप लगानी र विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

कम्पनीले चितवनको पटिहानीमा कृषि प्रशोधन केन्द्र र दूध डेरीको सञ्चालन गर्ने उद्देश्यले करिब ३.५ बिघा जग्गा खरिद गरी भौतिक संरचना निर्माणको कार्य गरिरहेको छ। यो कार्य अन्तिम चरणमा छ।

कम्पनीले ४० करोड रुपैयाँ लगानीमा चितवनमा कोल्ड स्टोर निर्माण गरिहेको छ। कम्पनीले चालु आर्थिक वर्षभित्र कृषि प्रशोधन केन्द्र पूर्ण रुपमा सञ्चालन गर्ने र आउँदो आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा दूध डेरीको सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिएको छ।

कम्पनीले तरकारी, फलफूल, खाद्यान्नलगायतको प्रशोधन र सुरक्षित भण्डारणका लागि शीतगृह (कोल्ड स्टोर) निर्माणका लागि सोमबार पटिहानीमा शिलान्यास गरेको छ। पाँच महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ३ बिघा १० कठ्ठा क्षेत्रफलमा शीतगृह निर्माण कार्य सुरु भएको हो।

कम्पनीले हाल मेरो किसान मोबाइल एपमार्फत स्थानीय किसानले उत्पादन गरेका तरकारी र फलफूल बिक्री–वितरण गर्दै आएको छ। यो प्लेटफार्मका माध्यमबाट किसान र उपभोक्ताले कुनै पनि बिचौलिया बिना नै वस्तु किनबेच गर्न सक्छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्