समय : ०५:१५ pm | बुधबार , फागुन २७ गते २०८२

भोजपुरमा हिउँदे आलु थन्काउन किसान व्यस्त

अर्थ विशेष | फागुन २७ गते २०८२

भोजपुर। भोजपुर का किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्।

खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा खटिएका देखिन्छन्। जिल्लाका विभिन्न गाउँबस्तीमा किसानले आलु खन्ने, छानेर बोरा भर्ने, सुकाउने र घरमा भित्र्याउने काम गरिरहेका हुन्।

जिल्लाका ग्रामीण भेगमा हिउँदे मौसममा लगाइने आलु किसानका लागि महत्त्वपूर्ण बालीका रूपमा लिइन्छ । यसले घरायसी खाद्यान्नको आवश्यकता पूर्ति गर्नुका साथै नगदे आम्दानीको स्रोतसमेत बनेको छ। विशेषगरी जिल्लाका पहाडी भेगका किसानले हिउँदे सिजनमा आलु खेतीलाई प्राथमिकता दिने गरेका छन्।

भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिकासहित प्राय: सबै क्षेत्रमा किसान यतिबेला आलु खन्ने र थन्काउने काममा व्यस्त देखिन्छन्। केही किसानले उत्पादन भएको आलु घरायसी प्रयोजनका लागि भण्डारण गरिरहेका छन् भने अधिकांशले बजारमा बिक्रीका लागि तयारी गरिरहेका छन्।

भोजपुर नगरपालिका–५ बोखिमका किसान धनबहादुर थापाका अनुसार आलु खेतीले प्रशस्त आम्दानी दिने भएकाले पछिल्लो समय यहाँका किसान यसतर्फ आकर्षित हुँदै गएका छन् । “अन्य बालीभन्दा आलुबाट छिटो आम्दानी लिन सकिन्छ”, उनले भने, “भोजपुर बजार नजिक भएकाले बेचबिखनमा खासै समस्या छैन । हामी यतिबेला आलु थन्काउनमा व्यस्त छौँ ।”

गाउँबाट युवाशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ जाने क्रम बढ्दै जाँदा खेतबारीमा कामदार अभाव हुने समस्या देखिएको किसानहरूको गुनासो छ । अधिकांश किसानले परिवारका सदस्यकै सहयोगमा आलु खन्ने र थन्काउने काम गरिरहेका छन् ।

जिल्लामा उत्पादन भएको आलु स्थानीय बजारसँगै छिमेकी जिल्ला र पूर्वी तराईका बजारसम्म पनि बिक्री हुने गरेको व्यापारीहरू बताउँछन्। उचित बजार व्यवस्थापन र भण्डारणको सुविधा उपलब्ध भए आलुखेतीबाट थप आम्दानी लिन सकिने किसानको भनाइ छ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा हिउँदे र वर्षे गरी गत वर्ष कूल ५१ हजार ९०० मेट्रिकटन आलु उत्पादन भएको थियो।

जिल्लामा करिब तीन हजार २७२ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको छ । समयमै आलु थन्काएर सुरक्षित रूपमा भण्डारण गर्न सके किसानलाई वर्षभरि खाद्यान्नको सहजता हुने र अतिरिक्त उत्पादन भएको बिक्री गरेर आम्दानी लिन सकिने किसान बताउँछन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्