काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्डका रूपमा स्थापित भइसकेको बताएका छन्।
बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच विस्तार गर्न टेलिकमले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थाहरूमा टेलिकमले निर्वाह गरेको भूमिका स्मरणीय र प्रशंसनीय रहेको उनको भनाइ थियो।
दूरसञ्चार सेवा अहिले व्यवसाय मात्र नभई मानव जीवनको आधारभूत आवश्यकता तथा शैक्षिक, सामाजिक र आर्थिक विकासको महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भइसकेको उनले बताए।
नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको हक र अधिकार भएको उल्लेख गर्दै उनले त्यसतर्फ कम्पनीले विशेष ध्यान दिनुपर्ने बताए। सन्तुष्ट ग्राहक नै कम्पनीको दिगो विकास र स्थायित्वको आधार भएको उनको भनाइ छ।
आगामी दिनमा ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखी अत्याधुनिक सेवा प्रवाह हुनेमा आफू विश्वस्त रहेको गृहमन्त्री अर्यालले बताए। प्रतिस्पर्धी बजारमा टेलिकमले आफ्नो सार्वजनिक दायित्व, सेवा गुणस्तर र प्रविधिगत नवप्रवर्तनबीच सन्तुलन कायम गर्दै ग्राहकलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनले जोड दिए।
कम्पनीको वृहत सञ्जाल, पूर्वाधार, दक्ष मानव संसाधन र बजार सम्भावनाको प्रभावकारी व्यवस्थापनमार्फत प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न उनले आग्रह गरे।
उनकाअनुसार सेवा विस्तारसँगै डिजिटल साक्षरता प्रवर्द्धन, विद्युतीय सरकारको अवधारणा कार्यान्वयन तथा ज्ञानमा आधारित समाज निर्माणमार्फत टेलिकमले राष्ट्र निर्माणमा योगदान दिँदै आएको छ।
सार्वजनिक सेवा सरकार र नागरिकलाई जोड्ने सेतु भएको उल्लेख गर्दै उनले नागरिक–सरकार सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल टेलिकमको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे।









