गोरखा । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ बाट आगामी फागनु २१ गतेको निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । गोरखा नगरपालिका–८, स्थित निर्वाचन कार्यालयमा आफ्ना प्रतिनिधि नारायण खत्रीमार्फत डा भट्टराईले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्बासेले जानकारी दिए ।
उनले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट उम्मेदवारी दिएका थिए । त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा क्षेत्र नं १ का उम्मेदवार गोपालबाबु श्रेष्ठले पनि शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।
कार्यालयमा प्रस्तावक तथा समर्थकसहित उपस्थित भएर श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन् । उनीहरुको उम्मेदवारी फिर्ता भएसँगै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नं १ मा अब १२ जना र क्षेत्र नं २ मा १३ जना उम्मेदवार कायम भएको छ ।









