समय : ०४:३५ pm | बुधबार , माघ २१ गते २०८२

कृषि विकास बैंकद्वारा ५९औँ वार्षिकोत्सव सम्पन्न

अर्थ विशेष | माघ ७ गते २०८२

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आफ्नो ५९औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । कृषि क्षेत्रमा कर्जा लगानीका लागि नेतृत्वदायी बैंकका रूपमा स्थापित यस बैंकले समयक्रमसँगै व्यवसायिक योजना, कार्यशैली, व्यवस्थापकीय क्षमता तथा प्राविधिक प्रणालीमा उल्लेखनीय सुधार गर्दै आएको हो ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा बोल्दै बैंकका अध्यक्ष डिमप्रकाश पौडेलले बैंकिङ क्षेत्रमा आएको तीव्र परिवर्तनसँगै अघि बढ्न नयाँ प्रविधि तथा आधुनिक प्रशासनिक र बैंकिङ प्रणालीमा अभ्यस्त हुनुपर्ने आवश्यकता औँल्याए । हिजो र आजको बैंकिङ प्रणालीमा आमूल परिवर्तन आएको उल्लेख गर्दै उनले कृषि विकास बैंकले ती परिवर्तनलाई धेरै हदसम्म आत्मसात् गर्दै आएको बताए।

प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले बैंकले कृषि कर्जालाई पहिलो प्राथमिकतामा राख्दै ग्रामीण भेगमा बैंकिङ पहुँच विस्तारमा विशेष ध्यान दिएको जानकारी दिए । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने उत्पादनमूलक क्षेत्रहरूमा कर्जा विस्तारलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । बैंकिङ सेवालाई चुस्त, दुरुस्त तथा ग्राहक केन्द्रित बनाउने उद्देश्यसहित पाँच वर्षे रणनीतिक व्यवसायिक योजना २०८१र८२ देखि आव २०८४/८५ सम्म कार्यान्वयनमा ल्याइएको पनि उनले जानकारी दिए

नेपाल राष्ट्र बैंकका नियम तथा निर्देशिकाको पूर्णपालना गर्दै आर्थिक अनुशासन कायम गरिएको उल्लेख गर्दै सिइओ गुरुङले बैंकले डिजिटलाइजेसनलाई केन्द्रमा राखेर विभिन्न डिजिटल सेवा प्रवाह गरिरहेको बताए । व्यावसायिक विविधता कायम गर्दै अन्य वाणिज्य बैंकसँग प्रतिस्पर्धी बैंकको रूपमा आफूलाई स्थापित गर्न बैंक सफल भएको उनको दाबी थियो ।

वार्षिकोत्सवका अवसरमा बैंकले साना किसानलाई लक्षित गरी तयार गरिएको ‘वान मिनेट बिजनेस प्लान’ सफ्टवेयर तथा केन्द्रीय कार्यालयमा शिशु स्याहार केन्द्रको औपचारिक शुभारम्भसमेत गरेको छ । बैंकमा हाल ५१ प्रतिशत नेपाल सरकार र ४९ प्रतिशत सर्वसाधारणको शेयर स्वामित्व रहेको छ । 

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा समग्र कर्जा वृद्धि लक्ष्यको ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा नै लगानी गरिएको छ । आर्थिक सूचकाङ्कका हिसाबले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा बैंकको कूल निक्षेप २० दशमलव ३१ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ९३ अर्ब ३५ करोड पुगेको छ भने कर्जा प्रवाह आठ दशमलव ४० प्रतिशतले वृद्धि भई रु दुई खर्ब २४ अर्ब पुगेको छ । सो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात तीन दशमलव ४४ प्रतिशत र खुद नाफा रु तीन अर्ब ७३ करोड रहेको थियो ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८२र८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा कृषि विकास बैंकको कूल निक्षेप रु  तीन खर्ब २४ अर्ब ९७ करोड र कूल कर्जा प्रवाह रु दुई खर्ब ३० अर्ब २७ करोड पुगेको छ । सो अवधिसम्ममा निष्क्रिय कर्जा कूल कर्जा लगानीको तुलनामा चार दशमलव ५२ प्रतिशत रहेको बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्