काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (MKCL) ले हाल कायम रहेको चुक्ता पुँजीको १ः०.६ अनुपातमा हकप्रद साधारण सेयर निष्काशन गर्नको लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीले हालको ७५ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी बराबरको हकप्रद जारी गर्ने निर्णय गरेको हो । यसअनुसार, विद्यमान १ कित्ता साधारण सेयर बराबर नयाँ ०.६ कित्ता साधारण सेयरको अनुपातमा कम्पनीले कुल ४५ लाख ३६ हजार कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्नेछ । प्रति सेयर १०० रुपैयाँ अंकित दरको यस हकप्रदको कुल मूल्य ४५ करोड ३६ लाख रुपैयाँ हुनेछ ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको बसुन्धारा, काठमाडौंस्थित कार्यालयमा पौष ३ गते बिहीबार सम्पन्न एक कार्यक्रमका बीच नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरिएको हो । सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना र नेपाल लाइफ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड नेपालको कृषि क्षेत्रको व्यावसायिक विकासका लागि कृषक र उपभोक्ताहरूलाई जोड्ने संस्थागत मूल्य श्रृंखला व्यवस्थापकको रूपमा कार्यरत एक अग्रणी कम्पनी हो । कम्पनीले कृषकहरूलाई आवश्यक उत्पादनका साधनको उपलब्धता, परामर्श सेवा, प्रविधि प्रसार, प्रशोधन उद्योगहरूको विकास गर्ने र उपभोक्ताहरूलाई स्वस्थ, गुणस्तरीय तथा पोषिलो कृषि उत्पादनहरू उपलब्ध गराउने सम्बन्धि व्यवसाय गरिरहेको छ ।
नियुक्त भएको नेपाल लाइफ क्यापिटल लिमिटेड भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी हो । यो धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्ध, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा लगायतका कार्यहरू गर्ने अनुमति प्राप्त मर्चेन्ट बैंकिङ्ग संस्था हो ।









