समय : ०३:११ am | सोमबार , पौष ७ गते २०८१

जिपिएस जडानपछि प्रभावकारी बन्दै एम्बुलेन्स सेवा

अर्थ विशेष | असार ७ गते २०८१

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा सञ्चालित एम्बुलेन्समा ‘ग्लोबल पोजिसनिङ सिष्टम (जिपिएस)’ जडानपछि सेवा प्रभावकारी बन्दै गएको छ । सञ्चार प्रणाली तथा प्रेषण केन्द्र (डिस्प्याच सेन्टर)मार्फत एकद्वार प्रणालीबाट एम्बुलेन्स सञ्चालन गर्न जिपिएस जडान गरिएपछि सेवा प्रभावकारी बन्दै गएको जनस्वास्थ्य कार्यालयका अधिकृत सृजना अधिकारीले जानकारी दिए ।
जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति, जिल्ला जनस्वास्थ्य कार्यालय र धुलिखेल अस्पतालस्थित प्रेषण केन्द्रको समन्वयमा यहाँका १३ स्थानीय तहमध्ये पहिलो चरणमा ११ तहका २२ एम्बुलेन्समा जिपिएस जडान गरिएको छ ।

बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको सहयोगमा पहिलो चरणमा २२ एम्बुलेन्समा निःशुल्क जिपिएस जडान गरिएको अधिकारीले बताए। उनका अनुसार बाँकी एम्बुलेन्समा जिपिएस जडानका लागि प्रदेश सरकारसँग थप बजेट माग गर्न कार्यालयको योजना रहेको छ ।

यहाँको मण्डनदेउपुरका तीन, पाँचखालका दुई, पनौती नगरपालिकाका दुई, महाभारतको एक, रोशीका तीन, बेथानचोकका दुई, खानीखोलाका दुई र चौरीदेराली गाउँपालिकामा सञ्चालित तीन तथा धुलिखेल अस्पतालको एक एम्बुलेन्समा जिपिएस जडान गरिएको छ । जिल्लामा स्थानीय तह, सङ्घसंस्था एवं क्लबमार्फत ४७ एम्बुलेन्स सञ्चालित छन् ।

जिपिएस जडान गरिएका एम्बुलेन्सले एक वर्षसम्म कुनै शुल्क तिर्नुनपर्ने र एक वर्षपछि भने नवीकरण गर्नुपर्ने व्यवस्था रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिपिएस जडानपछि एम्बुलेन्सको अवस्था र चलिरहेका बारेमा प्रेषण केन्द्रमा स्क्रिन र जनप्रतिनिधिले मोबाइलबाट सम्पूर्ण जानकारी लिन थालेका छन् ।

धुलिखेल अस्पतालका डा सानु श्रेष्ठले एम्बुलेन्समा जिपिएस जडानपछि सेवामा प्रभावकारिता बढ्दै गएको बताउनुभयो । “हामीले बिरामी ल्याउन आफन्तले सम्पर्क गर्ने वित्तिकै उनिहरुको नजिक भएका एम्बुलेन्सलाई तुरुन्तै सम्पर्क गरी पठाइहाल्छौँ, यसोगर्दा बिरामीलाई समयमै अस्पताल आउन सजिलो भएको छ”, उनले भने ।

यसअघि वर्षौँदेखि यहाँका अधिकांश एम्बुलेन्स सरकारले लागू गरेको ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८’लाई बेवास्ता गरी मापदण्डविपरीत सञ्चालन हुँदै आएका थिए । निर्देशिकाले सेवारत एम्बुलेन्समा जिपिएस जडान भएको हुनुपर्ने, तालिमप्राप्त चालक र आकस्मिक चिकित्सकीय प्राविधिक९इएमटी० रहनुपर्ने व्यवस्था उल्लेख छ ।

यहाँ रहेका एम्बुलेन्समा निर्देशिकाअनुसार कामदण्डको पालना र भाडादरमा एकरुपता ल्याउन तथ्याङ्क सङ्कलन गरी जिपिएस जडान गरिएको जनाइएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार विभिन्न सङ्घसंस्था एवं दातृ निकायबाट प्राप्त भएकामध्ये स्थानीय तहद्वारा सञ्चालित एम्बुलेन्स केही बिग्रिएर थन्किएका छन् भने केहीलाई सञ्चालनका लागि नवीकरण तथा मर्मतको प्रयास भइरहेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्