समय : १२:५८ pm | मङ्गलबार , फागुन २६ गते २०८२

गुल्मीमा आजदेखि सातामा चारपटक हवाई उडान सुरु

अर्थ विशेष | कार्तिक २७ गते २०८२

गुल्मी। रेसुंगा विमानस्थलमा आजदेखि सातामा चारपटक हवाई उडान सुरु भएको छ। नेपाल वायुसेवा निगम रेसुंगा स्टेसनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमितरुपमा साताको चारपटक हवाई उडान सुरु भएको जानकारी दिए।

नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एकपटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो। अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः सातामा चारपटक उडान तालिका सुरु गरिएको प्रमुख थापाले बताए।नेपाल वायुसेवा निगमले रेसुंगा विमानस्थलमा अबदेखि आइतबार, मंगलबार, बिहीबार र शनिबार गरेर सातामा चारपटक उडान गर्ने भएको हो।सो विमानस्थलमा नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्वीनअटर जहाजले काठमाडौंबाट बिहान ६:३० बजे र रेसुंगाबाट बिहान ७:३० बजे हवाई उडान गर्दै आएको छ। निगमले काठमाडौंबाट गुल्मीका लागि सात हजार ५०० रूपैयाँ र गुल्मीबाट काठमाडौ|का लागि सात हजार ३०० भाडादर निर्धारण गरेको छ।

रेसुंगा विमानस्थलमा दिउँसोको समयमा अत्याधिक मात्रामा हावाको चाप हुने भएका कारण प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान गर्नुपरेको निगमले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्