काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् । यससँगै एनआईसीमा न्यौपानेले ७ वर्ष लामो सीईओको जिम्मेवारीलाई पूर्णविराम दिएका हुन् ।
न्यौपानेले बुधबार सञ्चालक समितिसमक्ष राजीनामा बुझाएका हुन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । बैंक सञ्चालक समितिको बैठकले नायब कार्यकारी अधिकृत सन्तोष कुमार राठीलाई कायममुकायम प्रमुखको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
उनी २०७९ कात्तिक १६ गते दोस्रो पटक ४ वर्षका लागि एनआईसीको सीईओमा नियुक्त भएका थिए । सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा प्रवेश गरेका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए ।








