काठमाडाैं। सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइने दिवा खाजा कार्यक्रमको रकम वृद्धिगरी १० अर्ब १९ करोड विनियोजन गरेको गरेको छ। त्यसबाट २८ लाख विद्यार्थी लाभान्वित हुने सरकारको भनाइ छ।
सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गरे। उक्त कार्यक्रमका लागि एक अर्ब २९ करोड विनियोजन गरिएको छ। कार्यक्रमबाट १३ लाख छात्रा लाभान्वित हुनेछन्।
“लक्षित समुदाय र विकट हिमाली जिल्लाका विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्तिलाई निरन्तरता दिइनेछ, मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सातर्फको उच्च शिक्षामा उत्प्रेरणा छात्रवृत्ति प्रदान गरिनेछ। छात्रवृत्तिका लागि दुई अर्ब ४४ करोड विनियोजन गरेको छु”, उनले भने।
सरकारले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक वापत सङ्घीय सरकारबाट उपलब्ध गराइँदै आएको सशर्त अनुदान वृद्धि गरेको छ। त्यसका लागि रु १० अर्ब १६ करोड विनियोजन गरिएको छ।









