समय : ०६:१८ am | मङ्गलबार , कार्तिक १८ गते २०८२

हुप्सेकोटका ५६ बालिकालाई पाँच हजारसहितको बैंक खाता उपहार

अर्थ विशेष | वैशाख १५ गते २०८२

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ५६ जना बालिकालाई पाँच हजारसहितको बैंक खाता उपहार दिएको छ। ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चालू आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ५६ जना छोरीको बैंक खातामा उक्त रकम जम्मा गरिएको हो।

हुप्सेकोट पालिकामा स्थायी बसोबास गरेका दम्पतीले छोरी जन्मिएर वडा कार्यालयमा जन्म दर्ता गराएपछि छोरीको नाममा खोलिने बैंक खातामा गाउँपालिकाले नगद उक्त रकम जम्मा गरिदिने गरेकोे पालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्। चालू आर्थिक वर्षको चैतसम्म जन्मिएका ५६ जना छोरीहरुको बैंक खातामा पाँच हजारका दरले दुई लाख ८० हजार निकासा भइसकेको छ’, उनले भनिन्, ‘छोरीको बैंक खातामा अभिभावकलाई समेत कम्तीमा पाँच हजार जम्मा गर्न आग्रह गर्ने गरेका छौं।’

छोरीको नाममा बैंक खातामा जम्मा भएको रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित बचत गर्ने बानीको विकास उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताइन्। ‘यसरी बैंकमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा छ’, उनले भनिन्, ‘छोरी जन्मँदा खुसी नहुने समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताको विकास गर्नुका साथै भ्रुण हत्या रोक्न पनि यो अभियान सुरु गरिएको हो।’

हुप्सेकोट गाउँपालिकाले आव २०७७/७८ देखि यो कार्यक्रम सुरु गरेको हो। उक्त कार्यक्रममार्फत हालसम्म ३१२ जना छोरी लाभान्वित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताए।

कार्यक्रम सञ्चालन भएपछि उमेर पुगेर बच्चा जन्माउने, नियमित स्वास्थ्य चौकी आएर गर्भपरीक्षण गर्ने, अस्पतालमा नै सुत्केरी हुने, बच्चाको समयमै जन्म दर्ता गरिदिनेलगायतका सकारात्मक बानीको विकास भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाको भनाइ छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्