काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक होटल व्यवसायी संघले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा आयोजित शुभकामना आदानप्रदानका अवसरमा उनले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा साना तथा मझौला होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताएका हुन्।
महामन्त्री थापाले कोरोनाबाट थला परेको नेपालको होटल क्षेत्रलाई आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्नुपर्ने उल्लेख गरे। लगानीको वातावरण निर्माणमा सरकार लाग्नुपर्ने उनको भनाइ थियो।
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सीता गुरुङले व्यवसायसँगै राजनीतिलाई अगाडि बढाउन लोकतान्त्रिक होटल व्यवसायी संघले महत्वपूर्ण भूमिका खेलेको बताइन्। लोकतन्त्रवादी होटल व्यवसायी एकताबद्ध भएर अगाडि बढेमात्र लोकतन्त्रलाई जोगाउन सकिने उनको भनाइ थियो।
कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले पर्यटन प्रवर्द्धनको क्षेत्रमा नेपालको होटल क्षेत्रले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे। होटल क्षेत्रले नेपालको अर्थतन्त्रमा सहयोग गरेको उनको भनाइ थियो।










