काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार बिहान सार्वजनिक समीक्षा प्रतिवेदनमा मौद्रिक नीतिमा मौजुदा अधिकांश प्रावधानलाई केन्द्रीय बैंकले यथावत् राखेको छ ।
गएको साउन ११ गते केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो । गभर्नर महाप्रसाद अधिकारीले लचक नहुने दाबी गरिरहँदा सरकारको प्रभावमा माथिल्लो वर्गलाई मौद्रिक सुविधा पुग्नेगरी लचिलो नीति जारी गरेका थिए ।
आज सार्वजनिक मौद्रिक नीति समीक्षा प्रतिवेदनमा नीतिगत दर यसअघिकै पाँच प्रतिशत यथावत छ । तल्लो तहको निक्षेप सङ्कलन दर ३ र माथिल्लो तहको बैंक दर ६.५ प्रतिशत नै कायम छ ।
मौद्रिक नीतिको पहिलो त्रयमाससम्मको कार्यान्वयन स्थिति, आन्तरिक तथा बाह्य आर्थिक एवम् वित्तीय अवस्था तथा समष्टिगत आर्थिक परिदृश्यका आधारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
‘मौद्रिक नीतिको कार्यदिशालाई दिइएको निरन्तरताबाट मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्न गई नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ,’ प्रतिवेदनमा लेखिएको छ ।