समय : १०:०५ pm | मङ्गलबार , पौष ९ गते २०८१

नेपालले कन्ट्री रेटिङमा पायो ‘डबल बी माइनस’

अर्थ विशेष | मंसिर ७ गते २०८१

काठमाडौं । नेपालले सार्वभौम क्रेडिट रेटिङ (कन्ट्री रेटिङ)मा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । बेलायतको ‘फिच क्रेडिट रेटिङ’ कम्पनीले सार्वजनिक गरेको कन्ट्री रेटिङमा नेपालले ‘डबल बी माइनस’ पाएको हो । फिच रेटिङकाअनुसार नेपालको विदेशी विनिमय सञ्चिति, सार्वजनिक ऋणको मात्रा र आर्थिक गतिविधिमा देखिएको सुधारले नेपालको कन्ट्री रेटिङ राम्रो देखिएको हो ।

नेपालको बाह्य तथा आन्तरिक ऋण र २०२६ मा नेपाल अल्पविकसित देशबाट विकासउन्मुखमा स्तरोन्नति बन्ने अवस्था रहेकोले पनि पहिलो पटक भएको कन्ट्री रेटिङमा नेपालको अवस्था निकै राम्रो देखिएको हो । नेपालमा सशस्त्र द्वन्द्वको अन्त्यपछि देखिएको राजनीतिक अवस्थाको सुधारले समेत नेपाल दक्षिण एसियाली मुलुकको कन्ट्री रेटिङमा अगाडि परेको फिचको अध्ययनले देखाएको छ ।

नेपालको जलविद्युत क्षेत्रमा लगानीको सकारात्मक संम्भावनाको कारणले पनि नेपालको रेटिङ राम्रो मानिएको हो । यस्तै संघीय सरकारको ऋण जीडीपीको ४४ प्रतिशत र प्रदेश तथा स्थानीय सरकारहरूको ऋण नहुँदापनि नेपालको अवस्था बलियो देखिएको हो ।

नेपालका निजी क्षेत्रका प्रतिनिधिहरूले कन्ट्री रेटिङ नेपालको लागि आवश्यक भएको र रेटिङ नतिजाले नेपालमा लगानीको वातावरण सहज रहेको देखाएको प्रतिक्रिया दिएका छन् । कन्ट्री रेटिङले नेपालमा अब लगानी भित्र्याउन विदेशी लगानीकर्ताको लागि सहज वातावरण बन्ने उनीहरूको भनाइ छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्