समय : ०३:१४ pm | सोमबार , असार ८ गते २०८३

पर्यटक आकर्षणको केन्द्र बन्दै ‘जन्तीढुङ्गा’ क्षेत्र

अर्थ विशेष | असार ८ गते २०८३

दाङ । पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका–१३ स्थित जन्तीढुङ्गा पर्यटनको आकर्षणको केन्द्र बनेको छ ।त्यस स्थानको अवलोकन गर्न जानेहरुले तस्बिर लिने र टिकटक बनाएर ‘पोष्ट’ गर्ने भएकाले जन्तीढुङ्गाको लोकप्रियता दिनानुदिन बढेको छ ।सिद्धहस्त मूर्तिकारले कुँदेका जस्ता एकै ठाउँमा हजारौँ ढुङ्गा रहेकाले त्यस क्षेत्र महत्वलाई उजागर गरेको छ । झाँक्री ढुङ्गा सामुदायिक बन क्षेत्रमा रहेका हजारौँ ढुङ्गा स्थानीयकाबीच ‘जन्तीढुङ्गा’ नामले परिचित छ । आदिकालमा त्यसस्थानमा विवाहका लागि हिँडेका ‘जन्ती बिलाएको’ भन्ने किम्वदन्ती छ ।

विभिन्न मूर्तिआकारमा देखिने त्यहाँका ढुङ्गा नै त्यस बेला विलाएका जन्ती र दुलहा–दुलही रहेको स्थानीयको भनाइ छ । “हामी स–साना हुँदा यो बाटो हिँड्नुहुँदैन, त्यो जन्ती विलायको ठाउँ हो, हामी पनि हराउँछौँ भनी बूढापाकाले भन्ने गरेको किम्वदन्ती सुनाउँदै स्थानीय लिलाधर भट्टराईले भने, “त्यही भएर हामी यो बाटो पनि हिँड्दैनथ्यौँ ।”

त्यस समयमा बेलुका जन्तीले विश्राम लिएको र बिहान भएपछि अलमलमा परी त्यही अपल भएको भन्ने बूढापाकाको भनाइ उधृत गर्दै उनले भने, “पछिल्लो समय त्यसप्रति जनचासो र कौतुहलता बढेको छ । पछिल्ला दिनहरुमा अवलोकन गर्न आउनेको सङ्ख्या ह्वात्तै बढेको छ ।”

उक्त संस्थानको आवश्यकरुपमा प्रचारप्रसार गरेमा देशकै महत्वपूर्ण पर्यटकीयस्थल बन्न सक्ने स्थानीयको भनाइ छ । त्यस क्षेत्रको संरक्षणका लागि जन्तीढुङ्गा संंंरक्षण समिति समेत गठन गरिएको छ । पर्यटकको चहलपहल बढेसँगै अस्थायी प्रकृतिका पसल र भौतिक पूर्वाधारका काम अघि बढेको छ । थानीय जागेश्वर वलीका अनुसार, पछिल्ला दिनमा त्यहाँ पुग्नेको संङ्ख्या बढिरहेको छ ।

तुलसीपुर उपमहानगर १३ र १४ को सिमानामा पनि झाँक्री ढुङ्गा सामुदायिक बनको डाँडोमा त्यस्ता ढुङ्गा रहेको पाइएको छ । त्यस क्षेत्रको प्रसार प्रसारसहित संरक्षण र भ्यूटावर निर्माण गर्न सकेमा दाङसहित छिमेकी जिल्लाको धेरै भू–भाग अवलोकन गर्न सकिने छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्