काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रुग्ण ठेक्काको रुपमा रहेका आयोजनाको समस्या समाधानका लागि मन्त्रालयले प्राथमिकता दिएको बताए।
राष्ट्रिय सभामा विभिन्न मितिमा सांसदले उठाएका प्रश्नको मंगलबार जवाफ दिने क्रममा उनले रुग्ण ठेक्काको समस्या समाधानका लागि मन्त्रालयबाट सहसचिवको नेतृत्वमा अध्ययन भइरहेको बताए। त्यस्ता आयोजनाको समस्या समाधानका लागि सुझाव दिन निर्माण व्यवसायी महासंघलाई भनिएको उल्लेख गर्दै मन्त्री दाहालले मन्त्रालय र निर्माण व्यवसायीको तर्फबाट प्रतिवेदन आएपछि दुवै प्रतिवेदन अध्ययनपछि उपयुक्त निर्णय गरिने बताए।
मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा केही समय वर्षायामका कारण काम गर्न कठिनाई भए पनि वर्षाकम भएसँगै सडक मर्मत कार्यलाई देसैं भरि सुरु गरिएको मन्त्री दाहालले जानकारी दिए। हाल देशै भरि करिब ५ हजार किलोमिटर सडक मर्मतको क्रममा रहेको भन्दै दसैं, तिहार जस्ता चाडपर्वमा सबै सडकलाई खाल्डाखुल्टी रहित बनाइसक्ने उनले उल्लेख गरे।
Shree Steel
चालक अनुमति वितरणमा समस्या जटिल भएको उल्लेख गर्दै मन्त्री दाहालले यो समस्या समाधानका लागि मन्त्रालयले प्राथमिकतासहित मिहिन रुपमा काम भइरहेको बताए। चालक अनुमति पत्र प्रदेश स्तरबाटनै वितरण गर्न आफू नेतृत्वमा सवै प्रदेशका मन्त्री समावेश विषयगत समितिको बैठक बसिसकेको भन्दै मन्त्री दाहालले अब चाँडै प्रदेशबाट वितरण थालिने विश्वास दिलाए।
मन्त्री दाहालले विभिन्न सांसदले उठाएका प्रश्नको जवाफ दिँदै संसदमा हुने प्रश्नोत्तर कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने बताए। यस्तै उनले प्रधानमन्त्रीको तर्फबाट महान्यायाधिवक्ताको प्रतिवेदन २०७९/८० समेत संसदमा पेस गरे।










