समय : ०१:२० pm | सोमबार , वैशाख २८ गते २०८३

तीज मेलामा महिला उद्यमीका सामग्री प्रवर्द्धन

अर्थ विशेष | भाद्र १६ गते २०८१

राँझा (बाँके)। नेपालगञ्जमा आयोजित सिद्धार्थ तीज मेलामा महिला उद्यमीले उत्पादन गरेका सामग्रीको किनबेच भएको छ । यही भदौ १४ गतेदेखि १६ गतेसम्म आयोजित मेलाले महिला उद्यमीद्वारा उत्पादित वस्तु र उपभोक्तासँग प्रत्यक्षरुपमा परिचित गराउनुका साथै बिक्री वितरणमा सहयोग पुगेको नेपालगञ्जकी महिला उद्यमी रचना श्रेष्ठले बताइन् ।

'प्रचारप्रसारको अभावमा कैयौँ महिला उद्यमीले उत्पादन गरेका सामग्रीले बजार पाउन सकेका छैनन्,' श्रेष्ठले भनिन्, 'यो तीज मेलाले केही हदसम्म महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरण र प्रचारप्रसार गर्नुका साथै महिला उद्यमीमा उत्साह थपेको छ ।'

मेलामा नि:शुल्क प्रवेश तथा अवोलकन, तीज विशेष हस्तकला, बुटिक र मेहेन्दीका स्टल, पाल्पाको चर्चित बटुक तथा चुकाउनीसहित अन्य स्थानीय परिकार राखिएको छ । तीजको अवसरमा महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरण र प्रचारप्रसार गरेर महिला उद्यमीमा उत्साह थप्ने उद्देश्यका साथ तीज मेला आयोजना गरिएको कार्यक्रम संयोजक दामोदर केसीले बताए ।

मेलामा २० ओटा प्रदर्शनी कक्षमध्ये १४ ओटामा महिला उद्यमीले उत्पादन गरेका उत्पादन राखिएका छन् । महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रचारप्रसार र प्रवर्द्धन गर्दै महिला उद्यमीबीच स्वस्थ प्रतिस्पर्धात्मक वातावरण सृजना गरी लगानी आकर्षित गर्ने अपेक्षा गरिएको केसीले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्