समय : ०१:०७ am | मङ्गलबार , वैशाख २८ गते २०८३

भैँसी बेचेर च्याउ खेती

अर्थ विशेष | भाद्र ७ गते २०८१

गलकोट ।यहाँको बागलुङ नगरपालिका–३ गहतेकी इशा क्षत्रीले व्यावसायिक तरकारी खेती थालेको चार वर्ष भयो । तीन रोपनी भन्दा बढी जग्गामा उनले चार वटा प्लास्टिक टनेल लगाएकी छन् ।

दुई वटा भैँसी पाल्दै आएकी क्षत्रीले तरकारीमा नाफा देखेपछि एउटा भैँसी बेचेर तरकारी खेतीमा लगानी गरिन् । उनी अहिले तरकारी खेतीबाट आत्मनिर्भर बनेकी छन् । उनका तीन टनेलमा घिरौँला, लौका, टमाटर, धनियाँ र तिते करेला छन् ।

तरकारी खेतीबाट हुने आम्दानीले एउटा छोरी र श्रीमानसहितको जीविका चलाएर केही रकम बचत गर्दै आएका छन् । उनले च्याउ खेती पनि गरेकी छन् । च्याउ खेतीका लागि क्षत्रीले छुट्टै टनेलको व्यवस्था गरेकी छन् । अन्य तरकारीबाट हुने आम्दानीको तुलनामा च्याउ खेतीबाट दोब्बर आम्दानी हुने क्षत्रीले सुनाउँछिन् । स्मृति कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर तरकारी खेती गर्दै आएकी क्षत्रीले च्याउ खेतीमा जोड दिएकी हुन् ।

उनले च्याउ खेती थप विस्तार गर्ने योजनामा रहेको बताइन् । ‘परिवारको खर्च चलाउन चार वर्ष अघिदेखि साँढे तीन रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै डोकोमा बोकेर बागलुङ बजार लगेर बिक्री गर्दै आएको थिएँ’, क्षत्रीले भनिन्, ‘छ महिना अघि बागलुङ नगरपालिकाले प्रदान गरेको तीन दिने च्याउ खेती तालिमले मलाई बल्ल राहत दियो ।’

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्