फिक्कल (इलाम)। पछिल्लो समय इलाममा किसानको ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षण बढ्दै गएको छ । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरू व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका छन् ।
जिल्लाको चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक रु १२ लाख आम्दानी गरेका छन् । एक बिघामा लगाइएका तीन हजार बिरुवाबाट उनले फलेका फल बेचेर रु आठ लाख र बिरुवा बिक्रीबाट रु चार लाख आम्दानी गरेका हुन् । 'गत वर्षसम्म फल र बिरुवाबाट रु १२ लाख आम्दानी गरेको थिएँ', उनले भने, 'यस वर्ष बिरुवा हलक्क बढेकाले उत्पादन अझ बढ्नेछ, जसबाट आम्दानी बढ्ने अपेक्षा गरेको छु ।
उद्यमी लिम्बूले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागनफ्रुटको फल र बिरुवा उत्पादन गर्दै आएका छन् । तीन वर्षअघि ‘भिलेज एग्रो फार्म’ दर्ता गरी सुरु गरेका उनले मलेसियन प्रजातिको रातो ड्रागनफ्रुट रोपेका छन् । उनले उत्पादन गरेको ड्रागनफ्रुट र बिरुवाको बजारीकरणमा समस्या छैन । व्यापारीहरू बगानमा नै आएर खरिद गरी लैजाने गरेका छन् । उनले उत्पादन गरेको ड्रागनफ्रुट झापाको दमकमा खपत हुने गरेको छ ।
'उत्पादन गरेको फल बिक्दैन कि भन्ने चिन्ता छैन, फल किन्न झापाका व्यापारी बगानमा नै आउँछन्', उनले भने, 'बगानबाट प्रतिकलोग्राम रु दुई सयदेखि रु तीन सय सम्ममा बिक्री हुने गरेको छ ।'
उनले उत्पादन गरेको बिरुवा भने गाउँपालिका, वडा कार्यालय, स्थानीय फार्म तथा किसानले नै खरिद गर्ने गरेका छन् । बिरुवा सरकारी मूल्यअनुसार प्रतिगोटा रु एक सयका दरले बिक्री हुने गरेको उनले बताए । उनले सुरुमा परीक्षणका लागि केही बिरुवा रोपेका थिए । त्यसबाट राम्रो फल उत्पादन भएपछि फार्म दर्ता गरी परम्परागत खेतीलाई विस्थापन गरी व्यावसायिक रुपमा ड्रागनफ्रट खेती सुरु गरेका हुन् । अहिले लिम्बूको व्यावसायिक ड्रागनफ्रुट खेतीले पाँच जनाको परिवारलाई स्वरोजगार बनाएको छ । आगामी दिनमा खेती विस्तार गर्ने योजनामा रहेको बताए ।
राम्रो आम्दानी हुने भएपछि चुलाचुली गाउँपालिका–२ का अर्का किसान माइतराज लिम्बूले पनि व्यावसायिक ड्रागनफ्रुट खेती थालेका छन् । उनले छ कठ्ठा जमिन भाडामा लिएर चार सय बोट ड्रागनफ्रुट रोपेका छन् । उनले लगाएका सबै बोटबाट उत्पादन हुन थालेका छन् । ‘छथरे ड्रागनफ्रट कृषि फार्म’ दर्ता गरी व्यावसायिक ड्रागनफ्रुट खेती सुरु गरेका हुन् । 'मैले ड्रागनफ्रुट खेतीबाट वार्षिक रु दुई लाख ५० हजार आम्दानी गर्दै आएको छु', उनले भने, 'अन्य परम्परागत खेतीको तुलनामा मेहनत कम र फाइदा पनि बढी हुनेरहेछ ।'
ड्रागनफ्रुट खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा खेती विस्तार हुँदै आएको छ । ड्रागनफ्रुट फलेको ३०औँ दिनमा खानयोग्य हुन्छ । टिपेर राख्दा १०–१५ दिनसम्म नबिग्रने हुन्छ । ड्रागनफ्रुट वर्षमा छ महिनासम्म निरन्तर फल्ने गर्दछ । यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ । गर्मी समयको जेठ दोस्रो सातादेखि मङ्सिर दोस्रो सातासम्म मुख्य रुपमा फल दिने गर्दछ । ड्रागनफ्रुटको बिरुवा रोपेको १६ वर्षसम्म उत्पादन लिन सकिन्छ ।
समथर जमिनमा ड्याङ बनाएर पिलर गाडेर, पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागनफ्रुट पूर्वी नेपालमा नौलो फल हो । यसको बोटको हाँगा कटिङ गरेर रोपिन्छ । एउटै बोटबाट पनि अरु बिरुवा वृद्धि गर्न सकिन्छ । एकपटक बिरुवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने लिम्बूले बताए ।
ड्रागनफ्रुटका लागि उष्ण क्षेत्र उत्तम मानिन्छ । यसको खेती दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने र समुद्री सतहबाट एक हजार पाँच सय मिटर उचाइसम्म भएको जमिनमा गर्न सकिन्छ । यो फल वार्षिक ५० देखि एक सय ५० सेन्टिमिटर वर्षा र २० देखि ३० डिग्री सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ । नेपालमा यो फललाई सिँचाइ भएको ठाउँ तराई, भित्री मधेस र मध्यपहाडी क्षेत्रमा खेती गर्न सकिने कृषिविज्ञहरू बताउँछन् ।







