काठमाडौं । रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्याएको छ । वत्ति पुगेसँगै गोसाईकुण्ड क्षेत्र झिलिमिली भएको छ ।
धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाइकुण्डमा जनैपूर्णिमा दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको हो । अहिलेसम्म गोसाईकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाईकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको बताए । कार्यकारी निर्देशक घिसिङले भने, ‘प्राधिकरणमा जागिर सुरुगर्नासाथ मैले प्यूठानस्थिति धार्मिक एवम् पर्यटकीय स्थल स्वर्गद्धारीमा विद्युत् पुर्याएको थिएँ, अहिले देशलाई पूर्ण रुपमा उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्ता, गोसाईकुण्ड,अन्नपूर्ण आधार शिविर, माथिल्लो मुस्ताङ, विभिन्न ठाउँमा रहेका गुम्बा, मस्जिद, मन्दिर जस्ता धार्मिक, पर्यटकीय एवम् ऐतिहासिक क्षेत्रमा राष्ट्रिय ग्रिडको विद्युत् पुर्याइरहेका छौं ।’










