दाङ। भूमि प्रशासन कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२/८३ मा रु ५९ करोड ३४ लाख १५ हजार राजस्व संकलन गरेको छ।
रजिस्ट्रेसन तथा सेवा दस्तुरबाट रु ३७ करोड सात लाख २४ हजार र पुँजीगत लाभकरबाट रु २२ करोड २६ लाख ९१ हजार संकलन भएको कार्यालय प्रमुख शान्तराज गौतमले जानकारी दिए।
उनका अनुसार उक्त कार्यालयले आव २०८१/८२ मा रजिस्ट्रेसन तथा सेवा दस्तुरबाट रु २५ करोड ६९ लाख ६१ हजार र पुँजीगत लाभकरबाट रु १० करोड ४४ लाख ८२ हजार राजस्व संकलन गरेको थियो।
आव २०८०/८१ मा रु १८ करोड ५९ लाख ६६ हजार रजिस्ट्रेसन तथा सेवा दस्तुरबाट रु पाँच करोड ३१ लाख ५१ हजार र पुँजीगत लाभकरबाट संकलन गरेको छ।
गत भदौमा जेन जेड आन्दोलनका क्रममा कार्यालयको भवन तथा कागजात जलेर पूर्ण रूपमा नष्ट भए पनि कार्यालयको सेवा प्रवाह नरोकिएकाले आव २०८२/८३ मा राजस्व संकलनमा सफल भएको कार्यालय प्रमुख गौतमले उल्लेख गरे।
उनले भने, “केही कागजातमात्र सुरक्षित थिए, जनतालाई कठिनाइका साथ सेवा दिएका छौँ। अहिले राजस्व पनि राम्रो संकलन भएको छ।”
सो कार्यालयअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिकाका नागरिकले भूमिसम्बन्धी सेवा लिने गर्छन्।










