समय : ०२:३९ pm | बिहिबार , श्रावण २१ गते २०८३

यातायात कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन

अर्थ विशेष | श्रावण २१ गते २०८३

जनकपुरधाम । आर्थिक वर्ष २०८२/८३ मा ५७ करोड १५ लाख रुपैयाँ भन्दा बढी राजस्व जम्मा भएको छ ।

यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले सेवाग्राहीबाट गत आर्थिक वर्षमा उक्त राजस्व सङ्कलन गरेको हो ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट आव २०८२/८३ मा सो कार्यालयले ५७ करोड १५ लाख ३० हजार ६३६ रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख वासुदेव मल्लले बताए।

उनले उक्त राजस्व अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ९ करोड ५४ लाख १३ हजार ३४४ रुपैयाँ कम सङ्कलन भएको जानकारी दिए।

सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा ६६ करोड ६९ लाख ४३ हजार ९८० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन, आर्थिक वर्षको अन्तिम महिनामा यातायात व्यवस्था विभागले सफ्टवेयर निर्माणका क्रममा ढिलाइ भएको कारण राजस्व सङ्कलनमा कमी आएको बताइन्छ ।

कार्यालय प्रमुख मल्लका अनुसार आव २०८२/८३ मा मोटरसाइकल १६ हजार ९५७ वटा, बस र ट्रक १८७ वटा, टेम्पो र विद्युतीय रिक्सा १ हजार ९०२ वटा, ट्याक्टर १ हजार २२ वटा, जिप र कार २२६ वटालगायत गरी २१ हजार २९४ वटा नयाँ सवारी दर्ता भएको छ । यस अवधिमा नयाँ र वर्ग थप गरी १३ हजार ३३८ जनालाई सवारीचालक अनुमतिपत्र वितरण गरिएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्