गलकोट (बागलुङ)। ढोडेनीका किसान त्रिलोचन सापकोटाले उत्पादन गरेका खुर्सानी र तरकारी पोखरामा बिक्री गर्दै आएका छन्।
सापकोटाले उत्पादन गरेको पिरो खुर्सानीको माग पोखाराबाट भएको छ। उनले १५ रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी र फलफूलखेती खेती पनि गरेका छन्।
पाँच वटा हाइटेक टनेलसहित खुला जग्गामा काक्रो, भेन्टा, धनिया, सिमी, बोडीलगायत तरकारी बिक्रीबाट सापकोटाले वार्षिक रु १८ लाख आम्दानी गर्दै आएका छन्।
“पहिलो पटक आफ्नो कृषि उत्पादन पोखरा पुगेको छ, पाँच रोपनी जग्गामा मात्रै खुर्सानीखेती लगाएको छु, यस सिजनमै खुर्सानीबाट दुई लाख ५० हजार देखि तीन लाखसम्म आम्दानी हुने देखियो”, सापकोटाले भने।
“खुर्सानीको उत्पादन धेरै भएपछि बागलुङ बजारमा खपत नभएकाले पोखराको बजारमा खुर्सानी पठाउन थालेको छु, अहिले काक्रो, केरा, धनिया र भेण्टाको उत्पादन बढेका। दैलोमै कालोपत्र सडक आएपछि ढुवानीको समेत समस्या छैन”, सापकोटाले भने।
पोखरामा ५००, बागलुङमा ४०० केजी खुर्सानी बिक्री भइसकेको छ। तीन महिना लगातार खुर्सानीको उत्पादन भइरहेको उनले बताए।
हाइटेक टनेल, थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत नमूना कृषि फर्म सञ्चालन गर्दै आउनुभएका सापकोटाले पाखो जग्गामा थप केराखेती सुरु गरेका छन्।
कालीगण्डकी पशुपालन तथा कृषि फर्ममार्फत ३४ वर्षदेखि बाबुको पदचाप पछ्याउँदै तरकारीखेतीमा लागि परेका सापकोटाले गाईभँैसी पालनमार्फत दैनिक ३० लिटर दूध बिक्री गर्दै आएका छन्।
दुई जनालाई रोजगारी दिएका उनले तरकारी खेतीबाटै दुई छोरालाई उच्च शिक्षा अध्ययनका लागि अमेरिका र अष्टे«लिया पठाएका छन्।
कृषिमा भित्रिएको प्रविधिका कारण मौसमी र बेमौसमी तरकारी, काँक्रो, टमाटर, माछा, केरा र दुध बिक्रीबाट वार्षिक रु १८ लाखसम्म आम्दानी भइरहेको छ”, उनले भने, “यही कमाइबाट छोरालाई उच्च शिक्षासम्म अध्ययनका लागि अमेरिका र अष्ट्रेलिया पठाएको छु, पढाइ सकेर स्वदेशमै आउन सल्लाहसमेत दिएको छु, आम्दानीबाट मल, बीउ, कर्मचारी र अन्य खर्च कटाएर १२ लाख त बचतै हुने गरेको छ।”










