म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धौलागिरिको केन्द्र मुना जोड्ने सडकलाई कालोपत्र र ढलान गरेर स्तरोन्नति गर्न गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा सञ्चालित योजनाले गति नलिदा स्थानीयवासी चिन्तित भएका छन् ।
मध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको वैकल्पिक मानिएको म्याग्दीदेखि ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक निर्माण पछिल्लो एक महिनायता सुस्त बनेको धौलागिरि–३ मुनाका अगुवा बुद्धिमान शेरपुञ्जाले बताए ।
‘यस वर्ष २३ करोड रुपैयाँ बजेट भएको यस योजनाको हालसम्म जम्मा पाँच–छ करोड रुपैयाँ बराबरको काम गरेका ठेकेदारले पछिल्लो एक महिनायता मजदुर र उपकरणको सङ्ख्या घटाएर न्यून बनाएका छन्,’ उनले भने, ‘दुई वर्षमा सम्पन्न गर्नुपर्ने योजना निर्माणले गति नलिदा अलपत्र पर्ने जोखिम बढेको छ ।’
गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मका मध्ये सबैभन्दा ठूलो र धेरै बजेटको यस योजनामार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रबिधिको कालोपत्र र ढलान हुनेछ ।
प्रशासनिक खर्चबाहेक ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको योजना कार्यान्वयनका लागि ५२ करोड ८० लाख ५३ हजार रुपैयाँ कबोलेको निर्माण कम्पनीसँग २०८२ असार ११ गते ठेक्का सम्झौता भएको थियो । विसं २०८२ कात्तिक महिनादेखि कार्यक्षेत्रमा परिचालन भएको ठेकेदार कम्पनीले हालसम्म करिब १० प्रतिशत मात्र भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाँका अनुसार इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिको कारण देखाएर ठेकेदारले निर्माण कार्यको गति घटाएका हुन् । ‘सबैभन्दा धेरै बजेट भएको दरवाङ–मुना–ढोरपाटनको प्रगति नहुँदा बजेट खर्च नहुने र अन्य बहुवर्षीय आयोजनामा काम गरेका व्यवसायीले भुक्तानी नपाउने समस्या देखिएको छ,’ उनले भने, ‘इन्धन र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले ठेकेदारलाई काम लगाउन समस्या भएको हो ।’
सङ्घीय र प्रदेश सरकारको ९समपुुरक० ५०÷५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेक्का अवधी २७ महिनाको हो ।
आगामी आवसम्म योजना निर्माण पूरा नभएमा सङ्घीय सरकारले बजेट नपठाउने र प्रदेश सरकारलाई व्ययभार थपिनेछ । विसं २०७१ मा मुनामा सडक पुगेको थियो । कच्ची अवस्थामा रहेको सडक गाउँपालिकाले मर्मत गरेर यातायात सञ्चालनको व्यवस्था मिलाएको थियो ।
निर्माण कम्पनीका सञ्चालक भीम सापकोटाले इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुत योजना सम्पन्न गराउन लागिएको बताए ।










