समय : ०३:२९ pm | शनिबार , मंसिर २७ गते २०८२

वार्षिक चार हजार १९२ टन मह उत्पादन : अध्ययन प्रतिवेदन

अर्थ विशेष | मंसिर ११ गते २०८२

नारायणगढ । नेपाल मौरीपालक महासङ्घले देशभर व्यवसायिक रूपमा पालिएका मेलिफेरा मौरीको संख्या र मह उत्पादनको तथ्याङ्क सार्वजनिक गरेको छ । महासङ्घका अनुसार हाल २ हजार १७५ व्यवसायिक कृषकले १ लाख १५ हजार १८३ गोला मौरी पाल्दै छन् र वार्षिक ४ हजार १९२ टन मह उत्पादन भइरहेको छ ।

आज भरतपुरमा पत्रकार सम्मेलन गरी महासङ्घले सो तथ्याङ्क सार्वजनिक गरेको हो । महासङ्घले हालको बहुराष्ट्रिय कम्पनीलाई कोटा स्वरूप मह आयात गर्न दिने निर्णयको विरोध गर्दै आएको छ । महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेलका अनुसार कृषि तथा पशुपक्षी मन्त्रालयमा २०८२/०६/२७ गते मन्त्रीको अध्यक्षतामा बसेको बैठकले बहुराष्ट्रिय कम्पनीलाई कोटा स्वरूप मह आयात गर्न दिने निर्णय गरेपछि महासङ्घ अन्तर्गतका कृषक आन्दोलनरत भएका छन् । उनले भने, “फूल बिरुवाको अवस्थाअनुसार नेपालको क्षमताअनुसार ३० हजार मेट्रिकटन मह उत्पादन गर्न सकिन्छ । तर हाल मेलिफेरा र सेरेनाको मह जोड्दा मात्र ६ हजार मेट्रिकटन उत्पादन हुन्छ । बजारीकरणमा समस्या देखिएकाले कम्तिमा आधा नेपाली मह नेपाली किसानबाट किन्नु पर्नेछ ।”

क्षेत्रगत उत्पादनको विवरणअनुसार, चितवनमा ३१८ कृषकले २६ हजार ७५० गोला मौरीबाट १ हजार ७० टन मह उत्पादन गर्ने छन् भने दाङमा ३५० कृषकले २६ हजार गोला मौरीबाट १ हजार ४० टन मह उत्पादन गर्ने अनुमान छ । मोरङमा ३०० कृषकले ६ हजार ५०० गोला मौरीबाट २२६ टन, झापामा ५०० कृषकले ८ हजार गोला मौरीबाट २८० टन मह उत्पादन गर्ने अनुमान गरिएको छ । अन्य मह उत्पादन हुने जिल्लामा प्युठान, सर्लाही, मकवानपुर, कपिलवस्तुलगायतका क्षेत्र पर्दछन् । देशका ३० भन्दा बढी जिल्लामा व्यवसायिक मौरीपालन हुँदै आएको र १० गोलाभन्दा माथि मौरी पाल्ने कृषक मात्र महासङ्घमा दर्ता भएको छन् । तर १० गोलाभन्दा कम मौरी पाल्ने कृषक धेरै छन् । साथै, रैथाने सेरेना र अन्य मौरीको तथ्याङ्क पनि निकट भविष्यमा सङ्कलन गरी सार्वजनिक गरिने योजना रहेको महासङ्घले जनाएको छ । पत्रकार सम्मेलनमा महासङ्घका वरिष्ठ उपाध्यक्ष पदमप्रसाद अमगाई, पूर्वअध्यक्ष रामप्रसाद पौडेललगायत किसानको सहभागिता रहको थियो ।
उनले सरकारलाई मह र मौरी उत्पादनमा उचित अनुदान र व्यवस्थापनको व्यवस्था गर्नुपर्नेमा जोड दिए। लागत बढी भएकाले नेपाली मह महँगो हुँदा, विदेशी मह सस्तो हुनु किसानका लागि चुनौतीपूर्ण रहेको बताए। आयातित महको स्रोत र गुणस्तर पनि मापन गर्नुपर्नेमा उनले जोड दिए।

सो अवसरमा महासङ्घका महासचिव सालिकराम बानियाले सरकारलाई मह र मौरीको तथ्याङ्क उपलब्ध गराइएको जानकारी दिए। उनले भने, “किसानको मह उत्पादन सुरु हुन लागेको अवस्थामा गत वर्षको डाटा प्रस्तुत गरिएको हो । यो वर्ष उत्पादन अझ बढ्ने अनुमान गरेका छौँ ।”

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्