समय : ०४:५७ pm | शनिबार , मंसिर २७ गते २०८२

घुन्सा र फलेटारमा स्याउ फल्यो: व्यावसायिक खेतीको नयाँ सम्भावना उजागार

अर्थ विशेष | कार्तिक ३० गते २०८२

ताप्लेजुङ । यहाँको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल भएको छ । स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका रूपमा रोपेका स्याउ बिरुवाले फल दिँदा उत्साह बढेको छ ।

विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा आधार शिविर प्रवेशद्वारमा अवस्थित फले र घुन्सामा इटालीबाट ल्याइएका बिरुवा रोपिएको थियो । रोपेको ६ महिनामै स्याउ फल्न थालेपछि स्थानीय आशावादी बनेका छन् । हिमाली भूभागमा स्याउखेतीको यो सफल प्रयासले ताप्लेजुङमात्र होइन, सम्पूर्ण पूर्वी हिमाली क्षेत्रका किसानका लागि व्यावसायिक स्याउखेतीको नयाँ सम्भावना देखाएको छ ।

फलेटार र ग्याप्ला क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा पहिलोपटक परीक्षण गरिएको हो । मनाङ एग्रो फार्मको समन्वयमा इटालीबाट ल्याइएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका स्याउका बिरुवा रोपिएको थियो । पुतली सहयोग योजना, स्वीट्जरल्याण्डको टोली र स्थानीय समुदायको साझेदारी तथा पुतली सहयोग आयोजनाको सहकार्यमा दिगो पर्यावरणीय कृषि प्रणाली कार्यक्रमअन्तर्गत फलेटार र घुन्सामा दुईदुई रोपनी क्षेत्रफलमा नमूना स्याउ बगैँचा विस्तार गरिएको छ । पुतली सहयोग योजनाका जिल्ला संयोजक दावाछिरिङ शेर्पाका अनुसार परियोजनाको उद्देश्य स्याउ उत्पादनसँगै अन्य कृषि उपजमार्फत किसानलाई आर्थिक रूपमा सशक्त बनाउनु रहेको छ ।

घुन्साका स्थानीय नुपुडुण्डुक शेर्पा अहिले आफ्नै स्याउ बगैँचा विस्तार गर्ने योजनामा छन्। उनले भने, “हामीले घुन्सामा र फलेमा रोपिएको स्याउ खायौँ । मीठो स्वादको स्याउ फल्यो । अब घुन्सा क्षेत्रमा स्याउखेती गर्ने योजनामा छौँ ।” घुन्सामा उत्पादन भएको स्याउ सफल परीक्षण भएसँगै थप आम्दानीको स्रोत बढ्ने भन्दै स्थानीयवासी उत्साहित भएको शेर्पाले बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्