भोजपुर। यहाँका किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन्। दसैँतिहार सकिएसँगै खेतमा पाकेका धान भित्र्याउने कामले गाउँ-गाउँमा चहलपहल बढाएको छ।बिहानैदेखि किसान खेतबारीतिर धान थन्काउने, मुठा बाँध्ने र सुकाउने काममा जुटेका छन्। केही समयअघिको लगातार बर्सातका कारण समयमा धान थन्काउन नपाएका किसान अहिले मौसममा सुधार आएपछि धान बाली भण्डारणमा लागेका छन्।भोजपुर नगरपालिका-५ का किसान भिमसेन फुयालले भने, 'हामी किसान अहिले धान धन्काउने काममा व्यस्त छौँ। केही समयमा अघिको वर्षाले ढिला भयो तर अहिले मौसम खुल्दा राहत महसुस गरेका छौँ। अर्मपर्म गरेर आ-आफ्नो खेतको धान थन्काउने काम जुेटका छौँ।
बर्सातका कारण धानबालीमा केही क्षति पुगेको भए पनि बाँकी बाली भण्डारण गर्ने काम भइरहेको स्थानीय कृषक कमला थापाले बताइन्। 'बर्सातले धानबाली केहि क्षति पुग्यो', उनले भनिन्, 'तर जे बाँकी छ, त्यसलाई थन्काउजे काममा गरिरहेका छौँ। अहिले धान थन्काउने हाम्रो मुख्य काम बनेको छ।'
बेमौसमी वर्षा, रोग कीराको समस्याका कारण अघिल्लो वर्षको तुलनामा उत्पादन केही घट्ने किसानको अनुमान छ। धान यहाँका किसानको प्रमुख अन्नबाली हो। जिल्लाका नौवटै स्थानीय तहमा धानखेती हुने गरेको छ।








