मुस्ताङ ।हिजोआज यहाँका मासु पसलमा च्यांग्राको मासु प्रतिकिलो एक हजार ३०० रूपैयाँ छ। यो मूल्य सुन्दा धेरैलाई लाग्न सक्छ एक हजार रूपैयाँ लगानी गरेर च्यांग्रापालन सम्भव होला र? तर यहाँको घरपझोङ गाउँपालिका-४ जोमसोमका पूर्णबहादुर नेपालीले पाँच वर्षअघि एक हजार लगानी गरेर च्यांग्रापालन सुरु गरेका थिए।
हिमाली उपआयोजनाले उद्यमशीलता गर्न चाहने व्यक्तिहरुलाई अनुदान सहुलियत दिन थालेपछि नेपाली र दलित समुदायका केही व्यक्तिहरु त्यहाँ पुगेका थिए। घरपझोङ-४ जोमसोमका ३० घरपरिवारले सामूहिक च्यांग्रापालन गर्ने प्रस्ताव गरे। आयोजनाले सो प्रस्ताव पारित गर्यो र अनुदान सुनिश्चित गर्यो।
पूर्णबहादुरसहित दलित समुदायका ३० घरधुरीले प्रतिघरधुरीका लागि तीन/तीनवटा च्यांग्राको माउ (रमा) पाए। एक घरधुरीलाई च्यांग्रा खरिद गर्दा लाभग्राही घरधुरीले एक हजार रूपैयाँ तिरेँ। बाँकी रकम उपआयोजनाले अनुदान सहयोग गर्यो। सुरुमा ३० घरधुरीका दलित समुदायले सगोलमा नै च्यांग्रापालन गरे। तर, सामूहिक रुपमा च्यांग्रापालन गर्न कठिनाइ भयो। कतिपय च्यांग्राहरु हराउने र मर्न थाले।images
images
एक वर्ष नपुग्दै अनुदानमा खरिद गरिएको च्यांग्राको सङ्ख्या घट्दै जान थालेपछि उनीहरुले एक्लाएक्लै बाँडेर पाल्ने निर्णय गरे। पूर्णबहादुरले सगोलबाट भागबन्डा गरी लिँदा भागमा दुईवटा पर्यो।
पूर्णबहादुरको भागमा परेको दुईवटा च्यांग्रामा १० वटा थपेर १२ वटा पुर्याए। त्यसपछि सुरु भयो पूर्णबहादुरको च्यांग्रापालनको व्यवसायिक यात्रा। उनको च्यांग्रापालन अहिले लोभलाग्दो छ। उनको फार्ममा हाल १३० बढी च्यांग्रा छन्। यसै वर्षमात्र पूर्णबहादुरले २० वटाभन्दा च्यांग्रा ४० हजार रूपैयाँ मूल्यमा बिक्री गरे। उनी भन्छन्, 'पाल्न त धेरै पनि सकिन्थ्यो, तर हिउँचितुवा र अन्य वन्यजन्तुबाट बचाउन गाह्रो पर्छ।'
उनले च्यांग्रापालनका लागि एकजना गोठाले पनि राखेका छन्। उनीसँगै च्याग्रापालन सुरु गरेका ३० घरधुरीमध्ये हाल सात घरधुरीले मात्रै च्यांग्रापालन गरिरहेका छन्। च्यांग्रापालनको मुख्य उद्देश्य मल उत्पादन र पाठीपाठी उत्पादन गर्नु हो।
हाल बर्सेनि २०० झोपा मल बिक्री गरी दुई लाख रूपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको पूर्णबहादुर बताउँछन्। पूर्णबहादरले भने, 'मल बिक्री गरेको पैसाले दाना किन्न र गोठालेलाई दिने खर्च उठ्छ, अरू सबै मुनाफा हुन्छ।'
औसतमा वार्षिक पाँच लाख रूपैयाँभन्दा बढी आम्दानी हुने गरेको पूर्णबहादुरको भनाइ छ। पछिल्लो समय जलवायु परिवर्तन र वन्यजन्तुको जोखिमका कारण धेरैले च्यांग्रापालन व्यवसाय छाडेको अवस्थामा आफूले कृषि कर्मसँगै पशुपालनलाई निरन्तरता दिने प्रतिबद्धता उनको छ।








