पर्वत। पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको बलेवा विमानस्थल ३६ वर्षदेखि बन्द रहँदा स्थानीयवासी निराश भएका छन्। विसं २०२२ मा निर्माण भएको विमानस्थल विसं २०४८ सम्म सञ्चालनमा रह्यो तर त्यसपछि पूर्ण रूपमा बन्द छ।
पोखरा–बागलुङ सडक विस्तारपछि यात्रु अभावमा बन्द गरिएको विमानस्थल पुनः सञ्चालनका लागि पटक–पटक पहल भए पनि नियमित उडान सुरु हुन सकेको छैन। विसं २०७४ चैतमा बागलुङ नगरपालिकाको पहलमा नेपाल एयरलाइन्स र तारा एयरले केही महिना उडान गरे पनि यात्रुको कमीका कारण पुनः सेवा बन्द भएको थियो।
नागरिक उड्डयन प्राधिकरणले करिब रु आठ करोड खर्चेर धावनमार्ग कालोपत्र, टर्मिनल भवन मर्मत तथा पार्किङ क्षेत्र विस्तार गरे पनि विमानस्थल अझै निष्क्रिय छ। विमानस्थलका कार्यालय सहयोगी सविता शर्माका अनुसार “सबै संरचना तयार छन्, जहाज आउन मात्र बाँकी छ।”
स्थानीयवासी राम शर्माले लगानी ‘बालुवामा पानी खन्याएजस्तै’ भएको बताउँदै, “यहाँ १८ देखि २४ सिट क्षमताका जहाज सहजै सञ्चालन गर्न सकिन्छ,” भने।
नगरपालिकाका प्रवक्ता चक्रबहादुर खत्रीका अनुसार धावनमार्ग कालोपत्रपछि परीक्षण उडानसमेत नभएको हो। “हामीले हरेक पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई अवलोकन गराएका छौँ, तर ठोस पहल भएको छैन,” उनले भने।
नगरप्रमुख वसन्तकुमार श्रेष्ठले पनि नगरको प्रयास मात्र पर्याप्त नभएको जनाउँदै भने, “संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भयो भने मात्र विमानस्थल सञ्चालन सम्भव छ।”
स्थानीयका अनुसार बलेवा विमानस्थल सञ्चालन भएमा पर्वत, बागलुङ र म्याग्दी जिल्लाका नागरिकलाई हवाई सेवाको ठूलो सुविधा मिल्नेछ। कालीगण्डकी करिडोर, झोलुङ्गे र बन्जी पुल सम्पन्न भएपछि यात्रुको संख्या बढ्ने र त्यसपछि विमानस्थल पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ।









