चितवन। दूधको अभावका कारण केही समयदेखि बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरूले दूध ल्याएसँगै पुनः सञ्चालनमा आएको छ। जेठ अन्तिम सातादेखादेखि बन्द रहेको उद्योग असोज पहिलो सातादेखि क्रमशः सञ्चालनमा आएको प्रबन्धक दुर्गा पराजुलीले जानकारी दिए।
उनका अनुसार हाल दैनिक एक लाख लिटर दूध प्रशोधनका लागि आइरहेको छ भने सालाखालाबाट ८० हजार लिटर दैनिक दूध आइरहेको छ। प्रारम्भमा डेरी र सहकारीहरूले दूध नल्याउँदा उद्योग आफैले दूध किनेर सञ्चालन गर्ने तयारीसमेत गरेको थियो। दसैँ बिदा बाहेक यो महिनादेखि उद्योग नियमित रूपमा सञ्चालनमा रहेको प्रबन्धक पराजुलीले बताए।
उद्योगले किसानबाट सङ्कलित दूधलाई प्रशोधन गरी धुलो (पाउडर) दूध र नौनी (बटर) उत्पादन गर्दै आएको छ। हाल चितवन, मकवानपुर, नवलपरासी र रुपन्देहीका जिल्लाबाट दूध आउन थालेको छ। गत वर्ष बिक्री नभएपछि डेरी र सहकारीले उद्योगमा थन्काएका नौनी, घ्यू र पाउडर दूध पनि लगिसकेका थिए।
भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योग विसं २०७५ देखि डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्दै आएको छ। पाउडर दूधको प्रतिलिटर मूल्य रु ११३ र घ्यूको प्रतिकिलो रु ५५ रहेको छ। २०७२ सालको भूकम्पअघि उद्योग आफैले दूध खरिद गरेर प्रशोधन गरी बजारमा बिक्री गर्दै आएको प्रबन्धक पराजुलीले बताए।









