समय : ०१:३८ pm | बुधबार , कार्तिक २६ गते २०८२

एकल महिलाको प्रेरणादायी अग्र्यानिक तरकारीखेती

अर्थ विशेष | असाेज २४ गते २०८२

भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागीकी एकल महिला मायादेवी राई अहिले गाउँकै प्रेरणादायी किसान बनेकी छन्। शिक्षण पेसा छाडेर उनले चार वर्षअघि अग्र्यानिक तरकारीखेती सुरु गरेकी हुन्।

राईले ‘इसुक्षा पशुपन्छी तथा मत्स्यपालन फार्म’ दर्ता गरी बन्दाकोभी, काउली, ब्रोकोली, टमाटर, भेडेखुर्सानी, एक्वास र प्याजलगायत तरकारी अग्र्यानिक विधिबाट उत्पादन गर्दै आएकी छन्। गाईभैँसी, बाख्रा र बङ्गुरको गोबरबाट बनाइएको जैविक मल प्रयोग गरी उनी पूर्ण रूपमा अग्र्यानिक खेतीमा केन्द्रित छिन्।

“अग्र्यानिक तरकारी उत्पादनबाट राम्रो आम्दानी हुँदै आएको छ,” राईले भनिन्, “स्थानीय बजारमा बिक्री गरेर घरखर्च सहजै चलिरहेको छ। अब खेतीलाई अझ विस्तार गर्ने तयारीमा छु।”

शिक्षण पेसा छाड्नुको कारण बताउँदै उनले भनिन्, “कृषिमा मिहिनेत गर्न सके राम्रो आम्दानी सम्भव छ। राज्यले सहयोग र बजार व्यवस्थापनमा ध्यान दिए अझ धेरै किसानलाई फाइदा पुग्छ।”

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले टेम्केमैयुङमा कृषि र पर्यटन दुवै क्षेत्रको राम्रो सम्भावना रहेको बताउँदै यी क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माण गरिएको जानकारी दिइन्।

त्यस्तै वडा नं ४ का वडाध्यक्ष हर्कराज राईले किसानलाई मौरीपालन, जडीबुटी, सुन्तला र कागतीखेतीतर्फ प्रोत्साहन दिइरहेको बताए। “तरकारीखेतीमा लाग्ने किसानको सङ्ख्या बढ्दो छ,” उनले भने, “नागी क्षेत्र मौरीपालनका लागि पनि उपयुक्त भएकाले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएका छन्।”

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले माटो सुहाउँदो खेती प्रणालीमा जोड दिँदै किसानलाई नगदेबालीतर्फ आकर्षित गर्न कार्यक्रम अघि बढाइएको बताए। उनका अनुसार टेम्केमैयुङमा उर्वरभूमि बढी भएकाले किसानलाई व्यावसायिक योजनाका आधारमा प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्