काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन विकासमा होटल क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । एकता होटल तथा गेष्टहाउस व्यवसायी सङ्घको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनको आज उद्घाटन गर्दै उनले गुणस्तरीय सेवा र आतिथ्य संस्कारको माध्यमबाट पर्यटकलाई आकर्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।
पर्यटनमन्त्री पाण्डेले भने ‘होटल व्यवसायमा पाहुनालाई शिष्टाचार कस्तो दिइन्छ, व्यवहार र सेवा सत्कार कस्तो छ, त्यसैमा पर्यटक निर्भर हुन्छन् । प्रकृति र संस्कृतिको विविधतालाई पर्यटनसँगै जोडेर लैजानुपर्छ ।’ उनले पर्वतारोहणका लागि नेपालभन्दा उत्तम अर्को गन्तव्य नरहेको बताउँदै साहसिक, धार्मिक र प्राकृतिक पर्यटन प्रवर्द्धनमा जोड दिए । पर्यटनमन्त्री पाण्डेले सरकार नीतिगत सुधार गरी निजी क्षेत्रसँगको साझेदारितालाई बलियो बनाएर पर्यटन विकासमा केन्द्रित हुने विश्वास व्यक्त गरे ।










