समय : ०६:३९ pm | सोमबार , वैशाख ७ गते २०८३

सुक्खाग्रस्त घोषणा होइन, राहत देउ’

अर्थ विशेष | श्रावण ९ गते २०८२

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको शून्य समयमा सांसदहरूले हालै मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै पीडित किसानलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका छन् ।

सांसद जावेदा खातुन जागाले मधेस प्रदेशमा खानेपानीको हाहाकार, सिँचाइ अभाव, खेतबारी सुक्दै गएको बताइन् । उनले सरकारबाट मधेसलाई विपद् संकट क्षेत्र घोषणा गर्नु राम्रो कदम भएको र तत्काल राहत प्याकेजको व्यवस्था गर्नुपर्ने बताइन् ।

सांसद जुलीकुमारी महतो महासेठले सरकारप्रति जनतामा आशा भए पनि राहत दिन ढिलो गर्न नहुने भन्दै समयमै मल, सिँचाइ र पिउने पानीको आपूर्ति सुनिश्चित गर्न माग गरिन् ।

सांसद डा अमरेशकुमार सिंहले व्यवस्थापकीय कमजोरीकै कारण जलस्रोत सम्पन्न देश नेपाल आज सुक्खा र खडेरीको चपेटामा परेको जिकिर गर्दै मधेसमा तत्काल हत आवश्यक भएको धारणा राखे ।

सांसद किरणकुमार साहले मधेसमा मल र पिउने पानी अभाव भएकाले सरकारले तत्काल समाधान गर्नुपर्ने बताए । सांसद गंगाप्रसाद यादवले पनि मधेसको समस्याप्रति सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।

सांसद अर्जुन नरसिंह केसीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले झण्डै ४०० भन्दाबढी उच्च जोखिमयुक्त क्षेत्र पहिचान गरी बस्ती स्थानान्तरणको सिफारिस गरिसकेको हुँदा सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्